नेपालमा उपलब्ध १२५ सीसीका स्टाइलिस ३ स्कुटर, तपाईको रोजाईमा कुन

काठमाडौं । स्कुटर कल्चर बढ्दो क्रममा रहेको छ । चलाउन सजिलो, घरमा रहेका महिला–पुरुष दुबैले चलाउन मिल्ने र घरायसी सामान ओसार पसार गर्न पनि सजिलो भएको कारण स्कुटर क्रेज बढ्दै गएको हो ।

सुरुमा १०० सीसी र त्यसपछि ११० सीसी क्षमताका स्कुटर नेपाली बजारमा उपलब्ध रहँदै आएकोमा पछिल्लो समय १२५ देखि १५५ सीसीसम्मका स्कुटर नेपाल आउन थालेका छन् ।

अहिले बजारमा उपलब्ध १२५ सीसी सेग्मेन्टका स्कुटरमा होन्डा ग्राजिया, टीभीएस एनटर्क, यामाहा फसिनो, सुजुकी वर्गम्यान स्ट्रीट र अप्रिलिया १२५ लगायतका छन् । तर, यी मध्यपनि ग्राजिया, एनटर्क र फसिनो चर्चामा रहेका र धेरै बिक्री हुने मोडलमा पर्छन् ।

यामाहा फसिनो लेटेष्ट टेक्नोलोजीमा आधारित स्कुटर हो । यसमा १२५ सीसी क्षमताको एफआई इन्जिन उपलब्ध रहेको छ । नयाँ प्रदुषण मापदण्ड अनुसारको यो स्कुटर पछिल्लो दिनमा सफल बन्दै गएको स्कुटर हो ।

यी तीन मध्ये होन्डा ग्राजिया सबैभन्दा पहिला नेपाल आएको स्कुटर हो भने त्यसको केही महिनापछि टीभीएस एनटर्क नेपाल आएको थियो । यस्तोमा यी दुई स्कुटरको बीच अहिले कडा प्रतिस्पर्धा भइरहेको छ ।

यदि तपाईले नजिकिदै गरेको चाडपर्वमा १२५ सीसी क्षमताको स्कुटर किन्ने सोच्दै हुनुहुन्छ भने चल्तीका तीन स्कुटरकाबीच भिन्नता थाहापाउनुस् ।

इन्ट्रुमेन्ट क्लष्टर

यी तीन वटै स्कुटरमा डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ । यी मध्येपनि टीभीएस एनटर्क १२५ रेस एडिसनमा ब्लुटुथ कनेक्टीभीटीको साथ जीपीएस नेभिगेसन दिइएको छ । यी तीनवटै स्कुटरमा एलइडी डेटाइम रनिङ लाइट उपलब्ध छन् ।

इन्जिन

१२५ सीसी क्षमताको स्कुटर किन्नेहरुको मनमा यसको पावर कति छ भन्ने प्रश्न उठ्नु स्वभाविक हो । यस्तोमा समान १२५ सीसी सेग्मेन्टका यी स्कुटरको पावर हेर्नु उपयुक्त हुन्छ ।

होन्डा ग्राजियामा १२५ सीसी एयरकुल्ड फोर स्ट्रोक इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८.५२ बीएच पावर र १०.५४ एनएम टर्क प्रदान गर्छ ।

टीभीएस एनटर्कमा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

फसिनोमा १२५ सीसी एफआई बीएस ६ मापदण्डको इन्जिन रहेको छ । योसँगै नेपालमा उपलब्ध पहिलो बीएस ६ इन्जिनको स्कुटर भएको छ । यसमा रहेको इन्जिनले ८.२ पीएस पावर र ७.९ एनएम टर्क जेनेरेट गर्छ ।

माइलेज र इन्धन ट्याङ्की

यहाँ हामीले अटोमोटिभ रिसर्च एजेन्सी इन्डियाले प्रमाणित गरेको माइलेजलाई प्रस्तुत गरेका छौं । एआरएआईका अनुसार यामाहा फसिनोले प्रतिलिटर ५० किलोमिटर, होन्डा ग्राजियाले ४५ किलोमिटर र टीभीएस एनटर्क रेस एडिसनले ४२ किलोमिटर माइलेज दिने छ । तर, अन रोडमा भने प्रमाणितभन्दा केही कम माइलेज आउने छ ।

यी तीनवटै स्कुटरमा ५ लिटरभन्दा केही बढी इन्धन अट्ने फ्यूल ट्याङ्क दिइएको छ । एनटर्कमा ५.८, ग्राजियामा ५.३ र फसिनोमा ५.२ लिटर क्षमताको ट्याङ्क उपलब्ध रहेको छ ।

सस्पेन्सन र ह्वील

यी तीनवटै स्कुटरमा अगाडि टेलिस्कोपिक फर्क दिइएको छ भने पछाडिको सस्पेन्सन फरक रहेको छ । ग्राजियामा थ्रि स्टेप एड्जस्टेवल स्प्रीङ लोडेड हाइड्रोलिक, फसिनोमा यूनिट स्वीङ र एनटर्कमा कुलिङ स्प्रीङको साथ हाइड्रोलिक डम्पर दिइएको छ ।

ह्वीलको कुरागर्दा तीनवटै स्कुटरमा अगाडि १२ इन्चको ह्वील प्रयोग भएको छ भने पछाडिको ह्वील एनटर्कमा ठूलो रहेको छ । टीभीएसले एनटर्कमा पछाडिको ह्वील १२ इन्चको नै प्रयोग गरेको छ । तर, फसिनो र ग्राजियामा भने १० इन्चको ह्वील प्रयोग गरिएको छ ।

 

 

भेरियन्ट र मूल्य

टीभीएस एनटर्क तीन भेरियन्टमा किन्न सकिन्छ । कम्पनीले एनटर्क ड्रम, एनटर्क डिस्क र एनटर्क रेस एडिसन नेपालमा बिक्री गर्दै आएको छ । कम्पनीले क्रमश यी भेरियन्टको मूल्य २ लाख १४ हजार ९००, २ लाख ३७ हजार ९०० र २ लाख ४९ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

होन्डा ग्राजिया दुई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले यसको स्टायडर्ड भेरियन्ट र डिलक्स भेरियन्ट बिक्री गर्दै आएको छ । यी दुबै भेरियन्टको मूल्य क्रमशः २ लाख १९ हजार ९०० र २ लाख ३९ हजार ९०० रुपैयाँ तोकेको छ ।

यामाहा फसिनो एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले यसको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ तोकेको छ ।


Back_to_top