उपत्यकामा एक हप्ताको लागि निजी र सार्वजनिक यातायात बन्द हुने

काठमाडौं । कोभिड १९ को संक्रमण तिब्रगतिमा फैलन थालेसँगै स्थानिय प्रशासनले उपत्यकामा निषेधाज्ञा जारी गर्दै सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको छ । आज बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैशाख १६ गतेबाट उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय बैठकले गरेको छ । यसक्रममा कुन कुन सेवा संचालन गर्ने र कुन कुन बन्द गर्ने भन्ने विषयमा आजै साँझसम्म जानकरी गराउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

‘बढ्दो संक्रमण रोक्न निषेधाज्ञा जारी गर्नुको विकल्प देखिएको छैन । उपत्यकामा संक्रमण तिब्रगतिमा फैलिरहेको छ । त्यसैले निषेधाज्ञा जारी गर्न लागिएको हो’, बस्नेतले मेरोअटोसँग भने ।

बस्नेतका अनुसार बैशाख १६ गतेबाट एक हप्ताको लागि सवारी साधन संचालनमा रोक लगाउन लागिएको हो । अत्यावस्यक सेवाको लागि भने छुट्टै व्यवस्था गरेर गाडी चलाउन दिने तयारी भइरहेको छ ।

स्थानिय प्रशासनको निर्णयपछि अत्यावस्यक सेवा बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा रोक लगाइने छ ।


Back_to_top