५ कुरामा ध्यान नदिए ईभी चालकले दुःख पाउने पक्का

काठमाडौं । इलेक्ट्रीक कार सन् २०२१ भर सबैभन्दा धेरै चर्चामा रह्यो । विशेषगरी चलाउन सजिलो, संचालन लागत कम र नयाँ टेक्नोलोजीको प्रयोग गर्न पाइने भएको कारण इलेक्ट्रीक कार किन्ने मानिस बढेका हुन् ।

प्रयोगकर्ता बढेसँगै यसमा आउन सक्ने चुनौतीको विषयमा पनि सजग बन्नुपर्छ भन्ने हेतुले विभिन्न विक्रेता कम्पनीले सर्भिस सेन्टर र स्पेयर पार्टस् मा ध्यान दिइरहेका छन् ।

अहिले नेपालमा विद्युतीय गाडीको मात्रै विक्री वितरण गर्नेगरी विक्री केन्द्रहरू खुल्न थालेका छन् । हुन्डाईले पहिलो अन्तर्राष्ट्रिय स्तरको इलेक्ट्रीक कारको शोरुम संचालनमा ल्याएको छ । साथै, एमजीले पनि आफ्नो शोरुम अपग्रेड सुरू गरेको छ ।

यसअघि पार्क कन्सेप्टमा गाडी विक्री गर्दै आएको बीवाइडीले पनि ठूलो लगानीमा ‘स्टेट अफ आर्ट’ शोरुम निर्माण गरिरहेको छ । नयाँ शोरुमसँगै गाडी विक्रेता कम्पनीहरूले सर्भिसमा पनि लगानी बढाएका छन् । उनिहरूले गर्ने सर्भिस चुस्त भए पनि ग्राहकले पनि आफ्नो सवारीसाधनको अवस्थाको विषयमा जानकारी राख्नुपर्छ ।

खासगरी नयाँ टेक्नोलोजी भएका कारण विद्युतीय कारमा कस्तो किसिमको समस्या आउँछ भन्ने एकीन भइसकेको छैन । त्यसैले सवारीधनीले चनाखो भएर यसलाई नियाल्नु पर्ने विज्ञहरूको सुझाव छ ।

‘विद्युतीय गाडी चलाउने हरेक चालकले आँखा, नाक र कान ठाढो राख्नु पर्छ । इलेक्ट्रीक गाडीमा देखिने अधिकांश समस्या यी तीन इन्द्रीयले थाहापाउन सक्छ’, हुन्डाईको आधिकारिक वितरक समेत रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जीएम दीपक थपलियाले भने । त्यसैले ईभी चालकले निम्न ५ कुरामा ध्यान दिए अनावश्यक समस्यामा पर्नु नपर्ने देखिन्छ ।

१. सानो १२ भाेल्टको ब्याट्री :  अहिले अधिकांश ईभी चालकले भोग्ने समस्या भनेको सानो १२ भोल्टको ब्याट्री डिस्चार्ज भएर हो । धेरै मानिसले त्यो ब्याट्रीको हेल्थ चेक नगर्ने र कम्बस्चन इन्जिनको जस्तो गाडी गुड्न साथ ईभीमा रहेको ब्याट्री चार्ज नहुने हुँदा समस्या देखिन्छ ।

त्यसैले सानो १२ भोल्टको ब्याट्री चार्ज भएको छ वा छैन समय समयमा चनाखो भएर हेर्नुपर्छ । यदि ब्याट्री डिस्चार्ज हुने अवस्थामा छ भने चार्ज गराउनु पर्छ । अन्यथा गाडी स्टार्ट गरेर रेडी मोडमा जान ब्याट्री हुँदैन र गाडीको मूख्य ब्याट्रीमा समस्या आयो भन्ने धेरैले सोच्छन् ।

२. कुलाइन र ब्रेक आयल : विद्युतीय कारमा कुनै किसिमको तेल वा कुलाइनको प्रयोग गर्नु नपर्ने विषयमा धेरै छलफल भएको सुनिन्छ । तर, ईभीमा दिइने कुलाइनको महत्व धेरै हुन्छ । ब्याट्री तात्दै जाँदा त्यसको तापक्रम मिलाउनेदेखि मोटरलाई चिस्याउन समेत कुलाइनको प्रयोग हुनेहुँदा यसको निरीक्षण गरिरहनु पर्छ ।

साथै, ईभीमा ब्रेक आयलको पनि प्रयोग हुन्छ । ब्रेक गाडी र यात्रुको सुरक्षासँग जोडिएको विषय भएको कारण यसको अवस्था जानकारीमा लिन हेर्नु पर्छ ।

३. अपडेट र आवाज : ईभीमा कम्पनीले सफ्टवेयर अपग्रेड गरिरहेका हुन्छन् । यदि तपाईंंको गाडीलाई पनि अपग्रेड गर्नु पर्ने भएको खण्डमा इन्ट्रुमेन्ट क्लष्टरमा सूचना आउँछ । त्यही सूचना अनुसार सर्भिस सेन्टरमा लगेर अपग्रेड गराउनु पर्छ ।

त्यसैगरी, विद्युतीय गाडीमा आवाज नआउने हुँदा क्याबिनमा अनौठो किसिमले आवाज आएको खण्डमा पनि चनाखो हुनुपर्छ । यसरी आउन सक्ने आवाज आफैं पत्ता लगाएर समाधान गर्न नसकिने किसिमको हुन सक्छ । त्यसैले सर्भिस सेन्टर जानु सही निर्णय हुन्छ ।

४. स्पेयर टायर : प्राय ईभीमा स्पेयर टायर उपलब्ध हुँदैन । स्पेयर टायर उपलब्ध नहुँदा कहिलेकाहीँ हाइवेमा लामो यात्रा गर्दा समस्या हुन सक्छ । ईभीमा पंचर किट मात्रै रहने भएकोले लामो यात्रामा निस्कनु अघि राम्रोसँग टायर चेक गर्नु उपयुक्त हुन्छ ।

अझ तपाईं लामै यात्रामा जाने योजनामा हुनुहुन्छ भने बजारमा पाइने सानो स्पेयर टायर किनेर राख्नु उपयुक्त मानिन्छ ।

५. डीसी फास्ट चार्जरको कम प्रयोग : विद्युतीय गाडी चढ्ने मानिसको लागि सबैभन्दा कठिन नै चार्ज गर्न धेरै समय लाग्नु हो । त्यसैले मानिसहरू छिटो चार्ज गर्ने टेक्नोलोजीको खोजीमा हुन्छन् । अहिले विभिन्न कम्पनीले हाइवेमा फास्ट चार्जिङ सुविधा समेत उपलब्ध गराउन थालेका छन् । तर, धेरै डीसी फास्ट चार्जरको प्रयोगले ब्याट्रीको लाइभ तथा स्वास्थमा समस्या ल्याउन सक्छ । त्यसैले डीसी चार्जरको प्रयोग कमभन्दा कम गर्नु उपयुक्त हुन्छ ।

 


Back_to_top