ट्याक्सी चढ्दा ‘टाइफाइड’ हुने अवस्थाले टुटल–पठाओ जन्मिए

‘लैनचौर… ठमेल… स्रोहखुट्टे… बालाजु नयाँ बस पार्क । जाने हो दाई ? आउनु–आउनु खालि छ’ 

तर, थाहा हुदैंन कहाँ र कता खाली हो । माइक्रो बसको ढोकाबाट ८० प्रतिशत भन्दा धेरै शरिर बाहिर निकालेर ढोका बाटै खस्ला झै अवस्थामा रहेको सह–चालक यात्रु पाए अझ कोचाैेंला भन्ने उद्देश्यका साथ कराउँदै हुन्थे । यो सन् २०११/१२ ताकाको कुरा हो । 

अहिले पनि अवस्था यहि छ । 

तर, त्यति बेला यात्रुहरुसँग अन्य विकल्प थिएन, आफ्नो गन्तब्यसम्म पुग्न । ट्याक्सी चढिसाध्य कहिले नै पो छ र ? अहिले विकल्प थपिएको छ । टुटल, पढाओ जस्ता एप । 

त्यति बेला जागिरे थिएँ, संसारकै ठुलो मध्यको एक मोवाइल कम्पनीमा । काठमाडौंमा बस्न जेनतेन तलबले पुग्थो । यात्रा सार्वजनिक बसमा नै थियो । आफैले कमाएर मोटरसाइकल किन्न सक्ने आर्थिक हैसियत थिएन । कार्यालय थियो नयाँ सडक, अर्थात न्युरोड । 

१० बजे कार्यालय पुग्न ८ बजे नै डेराबाट निस्कनु पर्दथ्यो । अन्यथा कुनै हालतमा १० बजे कार्यालयमा हाजिर हुन सम्भव थिएन । 

सार्वजिनिक यातायातको कुरा के नै पो गरिराख्नु पर्छ र ? सबैलाई थाहा छ, ४ किलोमिटर यात्रा गर्न २ घन्टा लाग्छ, ‘पिक आवर’मा । जाम तेस्तै अनि हरेक स्टपमा १०/१५ मिनेट रोक्नैपर्ने । बस/मिनिबस भित्रको दयनिय अवस्था, सहचालकको रुखो बोली । उनीहरु मानौं घर बनाउँदा डकर्मीले मिलाएर इट्टा चाङ लगाएजस्तै गरि बसमा यात्रु चाङ लगाउन चाहन्छन्, बस भित्र समाउने र टेक्ने ठाँउ समेत उनिहरुले नै तोकिदिन्छन् । साँझ परे पश्चात कुनै बस आफ्नो बिसौनीसम्म पुग्दैनन् । जस्तो, नेपालटार जाने बस पुग्ने भनेको माछा पोखरीसम्म मात्र हो । उनीहरुको उद्देश्य भनेको सकेसम्म धेरै टिप गर्ने, धेरै पैसा असुल्ने । 

अब कुरा गरौं ट्याक्सीको

गाँउ तिर अहिले पनि भन्ने गर्छन, ‘विदेश जाने भन्दा ट्याक्सी किनेर चलाउनेले काठमाडौंमा चाडैं घर बनाउँछ’ 

ट्याक्सी चालकहरु आफैमा छोटे राजा हुन् । अझै भनौ एक प्रकारका ‘डन’ नै हुन । समुहमा बस्ने ट्याक्सी चालकको रवाफ छुट्टै हुन्छ । उनिहरु ‘पालो’ मा मात्र जान्छन् । दर उनीहरुको आफ्नै हुन्छ । अगाडिको ट्याक्सीको भाडा तपाइलाई चित्त बुझेन भने अर्कोलाई सोध्नुस, उनिहरु कोहि जान मान्दैनन् । 

अहिले सरकारले ट्याक्सीमा सिन्डिकेट तोडेको घोषणा गरेको छ । तर, अवस्था भने उस्तै छ । नजिकको गन्तव्य छ भने कोहि जान मान्दैनन् । अनेक बाहाना गर्छन्, ‘मेरोमा पेट्रोल छैन, खाना, खाजा खाने समय भयो, म जान्न’ आदी इत्यादि । 

दिउँसोको समयमा सकेसम्म मिटरमा नजाने कोसिस गर्छन् । साँझ परेपछि त झन् कुरै भएन । 

अब कुरा गरौ टुटल पठाओको

सवारी तथा यातायात ऐन २०४९ को दफा ८ ९२०मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाईने छैन’ भन्ने कानुनी व्यवस्थाकारहेको छ । राइड सेयरिङलाई ब्यवस्थीत रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना भएका टुटल पठाओ जस्ता ‘प्लेटफर्म’लाई सरकारले मान्यता नदिने र यस्तो गरेको पाइएमा कारवाहि गर्ने बताइरहेको छ । केहि दिनअघि पठाओ राइडरलाई ट्राफिक प्रहरीले कारवाही गरेको समाचार अनलाइनमा छापिएको थियो । तर, ट्राफिक प्रहरीले भने टुटल पठाओलाई लक्षित गरेर कारवाही नगरेको बताएको छ । 

प्रविधिको विकाससँगै नयाँ युगको थालनि भइरहेको अवस्थामा सरकारले पुरानो ऐनलाई आधार मानेर यस्तो कार्यलाई निरुत्साहित गर्नुभन्दा नयाँ ऐन बनाएर यसलाई कसरी व्यवस्थीत गर्ने भनने तर्फ ध्यान दिएको छैन । 

यति मात्र होइन टुटल पठाओ जन्माउने वातारवरण नै सरकारले निर्माण गरिदिएको हो । सार्वजनिक यातायात चढ्दा ‘ज्वरो’ नै आउने र ट्याक्सी चढ्दा ‘टाइफाइड’ नै हुने अवस्थाबाट नै टुटल पढाओ जन्मिएका हुन् । 

२०११/१२ तिरै लागौ

साँझ ६ बजेतिर बस स्टपमा पुगेर ८ बजेसम्म बस चढ्न नसेकेको अनुभव बोकेको अवस्था रहेको छ । २ किलोमिटर यात्रा गर्न ६/७ सय लाजै नमानी ट्याक्सीले माग्छन् । चढ्न सक्ने कुरै भएन । टुलुटुलु हेर्नुको विकल्प थिएन । सायद त्यतिबेला टुटल पठाओ हुन्थे भने मेरो जिवन धेरै सहज हुने थियो । 

अहिले म आफैं बाइक चलाएर हिंड्छु । हत्तपत्त अरुले चलाएको बाइकको पछाडि बस्नसमेत डर लाग्ने गर्छ । आज पठाओ चढ्न पर्ने भयो । यात्रा थियो बालाजुदेखि मध्य बानेश्वर । पठाओ एपमा आफु पुग्ने ‘लोकेसन’ राख्ने बित्तिकै ‘राइडर फाउन्ड’ भनेर चालकको सबै जानकारी मोवाइलमा आयो । यसको केही छिनमै फोन आयो, ‘म २ मिनेटमा आइपुग्छु है’, भनेर  । 

एकैछिनमा पठाओ चालक आइपुगे । बाइकमा बसेर अगाडि बढियो । ‘दाई फुलटाइम हो कि के हो ?’ मैले सोधें । ‘हो भाई’, उनले सहजै भने । 

उमेरले ४० टेकेका हुँदा हुन् । ‘के गर्नु भाई विदेश जानुभन्दा त यहि ठिक छ । कमाइ पनि राम्रै हुन्छ’, उनले थपे । 

‘अनि आजकाल त ट्राफिकले कारवाही गर्छ रे नि त’, भनेपछि उनि झस्किए । मैले आफ्नो जानकारी दिए पछि भने उनले खुलेर कुरा गरे । उनी झस्कनुको कारण समेत बताए ।

भएको के रहेछ भने, केहि दिन अघि उनकै साथी राइड लिन गएछन् । उनलाई राईडका लागि भनेर बोलाएर कुटेछन् । राइडमा बाेलाउने ट्याक्सी चालकहरु रहेछन् । 

‘ट्राफिकले कारवाही गर्दैन । उहि ट्याक्सी चालकहरुको अलि डर हुन्छ, अरु केही छैन’ उनले अगाडि थपे । पठाओमा तथ्याङक अनुसार २० हजार मोटरसाइकल चालक आवद्ध रहेका छन् । उनी त एक पात्र मात्र हुन् । केही हदसम्म नेपालमै रोजगारीको समेत सिर्जना गरेर राम्रो काम गरिरहेको टुटल पठाओ जस्ता कम्पनीलाई सरकारले निरुत्साहित गर्ने भन्दा ऐन–कानुन परिमार्जन गरेर व्यवस्थित गर्न सके सरकारको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’को नारामा पनि केही टेवा पक्कै देला कि !


Back_to_top