‘प्रोजेक्ट टाइटन’को प्याटेन्ट दर्ता, स्टेरिङ नभएको कार आउने

एजेन्सी । अमेरिकी टेक्नोलोजी जाइन्ट एप्पलको कार बनाउने सबैभन्दा महत्वाकांक्षी परियोजनाले एक खुड्किलो पार गरेको छ । प्रविधिको क्षेत्रमा एप्पलले सेल्फ ड्राइभिङ कार निर्माणको दिशामा काम गरिरहेको समाचार आउन थालेसँगै एप्पल कार खोजिको विषय बनेको थियो ।

अहिले एप्पलले ‘प्रोजेक्ट टाइटन’ नामबाट प्याटेन्ट दर्ता गरेर काम अगाडि बढाएको रिपोर्टहरु सार्वजनिक भएका छन् । यो प्याटेन्ट एप्पलको भएको दावी गरिएको भएपनि एप्पलले आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

हटकार्स डटकमको रिपोर्ट अनुसार अमेरिकी प्याटेन्ट एण्ड ट्रेडमार्क अफिसले एप्पललाई सनरुफ सम्बन्धी नयाँ प्याटेन्ट प्रदान गरेको छ । उक्त सनरुफ एप्पलले आगामी इलेक्ट्रीक कारमा प्रयोग गर्ने सहजै अनुमान लगाउन सकिन्छ । किनभने, कम्पनीले आईफोन, आईप्याड वा म्याकबुकमा सनरूप टेक्नोलोजी प्रयोग गर्दैन ।

प्याटेन्ट दर्ताको लागि पेशभएको कागजपत्रमा कारको छत जस्तै तस्बीर पनि देखिन्छ । केही अन्य रेखा चित्रहरूले पनि सनरुफ देखाउँछन् । यसको मेकानिजम पनि कम्पनीले खुलाएको छ ।

प्याटेन्ट आवेदनको उद्देश्य कारको लागि नै दायर गरिएको हो । प्याटेन्टले एक ग्लास पनि देखाउँछ, जसअनुसार प्रयोगकर्ताले कारको छतको पारदर्शितालाई आफ्नो चाहनाअनुसार समायोजन गर्न सक्छ ।

एप्पलले सन् २०२५ सम्म आफ्नो कार बनाउने सपनालाई वास्तविकतामा परिणत गर्ने ब्लूमबर्गको भनाई छ । ब्लूमबर्गको रिपोर्ट मान्ने हो भने एप्पलको आगामी कार इलेक्ट्रीक हुनेछ । जुन पूर्ण रूपमा अटोनोमस (सेल्फ ड्राइभिङ) सुविधाले सुसज्जित हुनेछ । रिपोर्टमा केभीन लिन्चले एप्पल कार प्रोजेक्टको नेतृत्व गरिरहेको र यसको नाम प्रोजेक्ट टाइटन रहेको बताइएको छ । हालसम्मको रिपोर्टका अनुसार यो कारमा पेडल र स्टेयरिङ दुबै नहुने दाबी गरिएको छ ।


Back_to_top