तीन भेरियन्टमा नेपाल आयो सुजुकी सेलेरियो (मूल्यसहित)

काठमाडौं । मारुती सुजुकी सेलेरियो नेपाल आएको छ । डिलर नेटवर्कमा पुगिसकेको सेलेरियो तीन भेरियन्टमा नेपाल आएको हो । अबको केही दिनमा नै यसको डेलिभरी सुरु हुने कम्पनीले जनाएको छ ।

सिजी मोटोकर्पले नयाँ जेनेरेशन सेलेरियोको भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्टलाई नेपाली बजारमा ल्याएको छ । कम्पनीले सुरुवाती मूल्य २७ लाख ९९ हजार तोकेर बुकिङ लिएको थियो । कम्पनीले तोकेको मूल्य भिएक्सआई भेरियन्टको हो ।

त्यस्तै कम्पनीले जेडएक्सआई भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्ट जेडएक्सआई प्लस भेरियन्टको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यी तीन वटै भेरियन्टमा २/२ लाख रुपैयाँको अन्तर कायम गरेर मूल्य निर्धारण गरिएको छ ।

इन्डो-जापानी कम्पनीले नयाँ जेनेरेशन सेलेरियोलाई पहिलेको भन्दा धेरै टेक्नोलोजीको प्रयोग, धेरै माइलेज, थप सुरक्षा फिचर, थप आरामदायी बनाएर ल्याएको कम्पनीको दावी छ । सानो परिवारको लागि उपयोगी मानिने सेलेरियो यसअघि पनि नेपालमा राम्रो संख्यामा विक्री भएको थियो ।

निकै आकर्षक लुक्समा तयार भएको नयाँ जेनेरेशन सेलेरियो उच्च माइलेज दिने ह्याचव्याक हो । कम्पनीले यसमा १.० लिटर ड्यूलजेट इन्जिन दिएको छ । आइडियल स्टार्ट/स्टप सिस्टम सहित आएकोले यो इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीको दावी छ ।

यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । यसअघिको सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ ।

लम्बाई र उचाई पहिलेको मोडल जस्तै समान ३६९५ एमएम र १५५५ एमएम रहेको नयाँ सेलेरियोको चौडाई भने ५५ एमएम बढी रहेको छ । यसको चौडाई १६५५ एमएम छ । ह्वीलवेस १० एमएम र ग्राउन्ड क्लियरेन्स ५ एमएमले बढेको छ । यसमा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

पहिलो पटक सेलेरियोमा इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर थप भएका छन् भने, क्यावीन पहिलेको भन्दा प्रिमियम पाउन सकिन्छ ।


Back_to_top