मोटरसाइकल किन्दा इन्जिन हेर्ने कि डिजाइन !

काठमाडौं । नेपालमा सर्वाधिक धेरै विक्री हुने सवारीसाधन मोटरसाइकल हो । अहिले भारत, चीन, थाइल्याण्ड, मलेसिया, ब्राजिल, जापान लगायतका देशमा उत्पादन भएका मोटरसाइकल विक्री हुँदै आएका छन् ।

विशेषत २० देखि ४० वर्ष उमेर समूहमा पर्ने युवाहरुको रोजाईमा मोटरसाइकल पर्ने भएकाले त्यही अनुसारको बडी डिजाइन र पावरफुल इन्जिनमा मोटरसाइकल आउने गरेका छन् ।

नेपाल सरकारले सीसी क्षमता अनुसार लगाउने कर, बढ्दो इन्धनको मूल्य र मोटरसाइकलको इन्जिन अनुसार कै मर्मतसम्भार खर्च पनि तिर्नु पर्ने भएकोले चाहेर पनि धेरै मानिसले ठूलो मोटरसाइकल किन्न सकिरहेका हुँदैनन् । यस्तोमा मोटरसाइकलको इन्जिन वा डिजाइन हेर्नुभन्दा पहिला आफ्नो खर्च गर्न सक्ने क्षमता एकिन गर्नु पर्छ ।

सामान्यतया १२५ देखि १५० सीसीसम्मका मोटरसाइकलको मूल्य नै २ लाखदेखि ४ लाख रुपैयाँ पर्ने अवस्था आइसकेको छ । त्यसमा प्रिमियम फिचर र आकर्षक डिजाइन खोज्ने हो भने करिब ५ लाख रुपैयाँसम्म तिर्नु पर्छ ।

खर्च गर्ने रकम कम हुने मानिसले डिजाइन भन्दा इन्जिनको पर्फमेन्स र माइलेज हेर्नु उपयुक्त हुन्छ । तपाई आफ्नो सानो मोटरसाइकलको सहायताले आफ्नो सानो व्यापार, अफिस वा अन्य काम गर्नु हुन्छ भने इन्जिन हेरेर किफायती मोटरसाइकल किन्नु वुद्धिमानी हुन्छ । यस्ता मोटरसाइकलको संचालन खर्च कम हुने भएकोले तपाईलाई आर्थिक भार पर्दैन ।

तपाईसँग मोटरसाइकलको लागि खर्च गर्न राम्रै रकम छ । साथै, तपाई मोटरसाइकलको शौखिन हुनुहुन्छ भने तपाईले डिजाइन र इन्जिन दुबै उत्कृष्ट छनोट गर्न सक्नु हुन्छ । मोटरसाइकलको आकर्षक डिजाइनले तपाईको ब्यक्तित्वलाई निखार ल्याउन सहयोग गर्छ भने पावरफुल इन्जिनले तपाईले चाहे जस्तो बाटोमा यात्रा गर्न सकिन्छ ।

यदि तपाईसँग मोटरसाइकलमा खर्च गर्ने राम्रै रकम छ भने तपाईको छनोट मोटरसाइकलको बडी डिजाइनले पनि फरक पार्छ । अहिले बजारमा नेकेड, क्रुजर, स्पोर्टस्, एड्भेन्चर, ड्यूल पर्पोज, इलेक्ट्रीक, टुरिङ डिजाइनमा उपलब्ध रहेका छन् ।

नेपाली बजारमा नै अहिले १ लाख ६० हजारदेखि १ करोड मूल्यसम्मका मोटरसाइकल विक्रीमा रहेका छन् । त्यसैले तपाईले मोटरसाइकल छनोट गर्दा सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो खर्च गर्ने बजेटलाई आधार बनाउँदा राम्रो हुन्छ ।


Back_to_top