काठमाडौं । पछिल्लो समय नेपालमा पनि रोयल इनफिल्ड मोटरसाइकलको चर्चा र बिक्री बढ्दो क्रममा छ । रोयल इनफिल्डले नेपालमा नयाँ डिलरशिपबाट मोटरसाइकल बिक्री गर्न थालेसँगै यसको बिक्री झनै बढेको हो ।
सांघाई ग्रुप अन्र्तगतको अल्फा अटोमोटिभले नेपालमा नै एसेम्बल सुरू गरेर रोयल इनफिल्डका मोटरसाइकल बिक्री गर्दै आएको छ । रोयलको प्रिमियम सेग्मेन्ट मानिने ३५० सीसी सेग्मेन्टमा मोटरसाइकलको आयात बढ्दो देखिन्छ ।
कम्पनीले हाल नेपाली बजारमा क्लासिक ३५० को तीन भेरियन्ट, हन्टरको तीन भेरियन्ट र स्क्रयाम ४११ बिक्री गर्दै आएको छ । यदि तपाईं पनि यो फेस्टिभ सिजनमा रोयल इनफिल्डका मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ भने मोटरसाइकल र मूल्यको बारेमा जानकारी दिएका छौं । जुन तपाईका लागि उपयोगी हुनसक्छ ।
कुन मोडलको मूल्य कति ?
अल्फा अटोमोटिभले क्लासिक ३५० को बेस भेरियन्टको रूपमा क्लासिक ३५० को मूल्य ४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरू गरेसँगै यसको बिक्री ह्वात्तै बढेको छ । कम्पनीले हालै सम्पन्न नाडा अटो शो २०२३ मा क्लासिक ३५० को डार्क र क्रोम भेरियन्ट सार्वजनिक गरेको थियो । यी दुई भेरियन्टको मूल्य क्रमशः ५ लाख ३० हजार र ५ लाख २५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, रोयल इनफिल्डको लाइनअपमा सबैभन्दा कम मूल्यको मोटरसाइकल हन्टर ३५० को हन्टर रेट्रो, हन्टर मेट्रो र हन्टर रेबेल भेरियन्ट बिक्री हुँदै आएको छ । यी तीन भेरियन्टको मूल्य क्रमशः ४ लाख ५९ हजार, ४ लाख ७५ हजार, ४ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले बिक्री गर्ने ४११ सीसी क्रसओभर मोटरसाइकल स्क्रयाम ४११ को मूल्य ६ लाख ६० हजार रुपैयाँ रहेको छ ।
छैन् फेस्टिभ स्कीम
कम मूल्यमा नै मोटरसाइकल उपलब्ध गराउँदै आएको अल्फा अटोमोटिभले दशैं स्कीम ल्याएको छैन् । एसेम्बलमा आएको छुट ग्राहकलाई पासअन गर्ने उद्देश्यले कम मूल्यमा मोटरसाइकल ल्याएका कारण अझ छुट दिन सक्ने अवस्था नरहेको कम्पनीको भनाइ छ ।
फाइनान्स स्कीम उपलब्ध
रोयल इनफिल्डले फाइनान्स स्कीम भने उपलब्ध गराउँदै आएको छ । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर रोयल इनफिल्डका मोटरसाइकल खरिद गर्न सक्नेछन् । २ वर्षको किस्ता अवधि पाउने यो स्कीममा १६ प्रतिशत ब्याजमा नै कर्जा लिने सुविधा रहेको छ ।


