मंसिरमा गाडी किन्नेले कुन बैंकबाट अटोकर्जा लिँदा बढी फाइदा

काठमाडौं । आधारदर घटेसँगै बैंकहरुले सवारी कर्जाको पनि नयाँ ब्याजदर कायम गरेका छन् । बैंकहरुको आधारदर घट्दा सवारी कर्जाको ब्याजदरमा पनि केही फेरबदल आएको हो ।

बैंकहरुले आधारदरमा प्रिमियम जोडेर कर्जा दिने भएकाले आधारदर घट्दा सवारी लगायत अन्य कर्जाको ब्याजदर पनि घटेको हो ।

गत असारसम्म दोहोरो अंकमा रहेको आधारदरमा सवारी कर्जाको लागि १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोड्दै आएका छन् । त्यस्तो अवस्थामा ग्राहकले १५ प्रतिशतसम्म ब्याजदर तिर्नु पर्ने अवस्था थियो ।

अहिले बैंकको आधारदर औसतमा ९ प्रतिशतमा झरेको छ । त्यसमा एक प्रतिशत मात्रै प्रिमियम थपेर सवारी कर्जा दिने योजना पनि बैंकहरुले ल्याएका छन् । कतिपय बैंकहरुले विद्युतीय सवारी र पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको लागि फरक–फरक ब्याजदर तोकेका छन् ।

बैंकहरुले विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई सस्तो ब्याजदरमा कर्जा दिएर प्रोत्साहन गरिरहेको पनि देखिन्छ । यद्यपि, बैंकबाट ऋण लिएर सवारी खरिद गर्नेहरुको संख्या भने घट्दो क्रममा रहेको छ ।

चालु आर्थिक वर्षमा सवारी साधन कर्जामा नेपाल राष्ट्र बैंकले खुकुलो नीति लिए पनि कर्जा भने घटेको देखिन्छ ।

बैंकहरुको आधारदरमा आउने फेरिबदले ऋणीले लिने कर्जामा समेत फरक पर्छ । बैंकहरुको लागतले आधारदर तय गर्छ । त्यसमै ५ प्रतिशतसम्म प्रिमियम थपेर उनीहरुले ग्राहकलाई ऋण दिन्छन् ।
अहिले संस्थाहरुले प्रत्येक महिना आधारदर सार्वजनिक गर्दै आएका छन् । त्यसै अनुसार मंसिरमा सवारी कर्जाको ब्याजदर पनि घटेको हो ।

बैंकको लागत भने निक्षेपको ब्याजदर लगायतले फरक पर्छ । महंगो ब्याजदरमा निक्षेप संकलन गर्दा त्यसको प्रत्यक्ष असर कर्जाको ब्याजमा पर्ने गरेको छ ।

अहिले बैंकले कर्जा माग नहुँदा आधारदरमा १ प्रतिशत मात्रै प्रिमियम थप गरेर ऋण दिने योजना ल्याएका छन् । अधिकांश बैंकको आधारदर ९ प्रतिशत छ । उनीहरुले १ प्रतिशत प्रिमियम थप्दा ग्राहकले १० प्रतिशत ब्याजदरमै ऋण पाउँछन् ।

कुन बैंकको आधारदर कति ?

सावारी साधन र ऋणको अवधि अनुसार बैंकहरुले पनि ब्याजदर निर्धारण गरेका छन् । विद्युतीय सवारी खरिदका लागि लिइने कर्जामा केही बैंकहरुले सहुलियत ब्याजदर तोकेका छन् । पेट्रोलियम पदार्थबाट चल्ने सवारीका लागि तुलनात्मक रुपमा महंगो ब्याजदर तय गरेका छन् ।

सबैभन्दा सस्तो ब्याजदर सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । विद्युतीय सवारी खरिद गर्न यस बैंकबाट ग्राहकले सबैभन्दा सस्तो ब्याजदरमा ऋण पाउने छन् ।

यस बैंकले विद्युतीय सवारीकर्जा अन्र्तगत आधारदरमा १.४० देखि १.७५ प्रतिशत मात्रै प्रिमियम थपेर ऋण दिने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकको आधारदर ८.६३ प्रतिशत मात्रै छ ।

नेपाल बैंकले आधारदरमा २ देखि ४ प्रतिशतसम्म प्रिमियम सहित सवारी कर्जाको ब्याजदर तय गरेको छ । यस बैंकको अहिले आधारदर ९.६५ प्रतिशत छ । बैंकले विद्युतीय सवारीको लागि भने आधारदरमा १.५० देखि ३.५० प्रतिशत प्रिमियम थपेर ऋण उपलब्ध गराउने जनाएको छ ।
नबिल बैंकले आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम थपेर सवारी कर्जा दिने जनाएको छ । अहिले बैंकको आधारदर ९.८५ प्रतिशत रहेको छ । नबिलले ५ देखि ७ वर्षको अटो लोनका लागि स्थिर ब्याजदर १०.९९ प्रतिशत तोकेको छ ।

ग्लोबल आइएमई बैंकले सवारी कर्जाको ब्याजदर आधारदर १०.०२ छ । बैंकले ५ वर्षसम्म स्थिर ब्याजरमा १०.९९ र त्योभन्दा माथिको अवधिका लागि १२.९९ प्रतिशत ब्याजदरमा ऋण लिन सकिने जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९.९५ प्रतिशत आधारदरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम सहित सवारी कर्जाको ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकको आधारदर १०.८५ प्रतिशत छ । त्यसमा प्रिमियम जोडेर सवारी कर्जाको ब्याजदर निर्धारण गर्नेछ ।

प्रभु बैंकले १०.१ प्रतिशत आधारदरमा ३ देखि ५ प्रतिशत, एनआइसी एसीयाले स्थिर ब्याजदर १३.७६ प्रतिशत सवारी कर्जाको ब्याजदर तोकेका छन् ।

यसैगरी, कुमारी, माछापुच्छ्रे, प्राइम, सिटिजन, सानिमा सिद्धार्थ लगायत वाणिज्य बैंकहरुले आधारदरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर सवारी कर्जाको ब्याजदर तय गरेका छन् । ग्राहकको बार्गेनिङ पावरको आधारमा प्रिमियम तय हुँदै आएको छ ।


Back_to_top