धमाधम मूल्य घटाउँदै मोटरसाइकल बिक्रेता, कुन-कुनले घटाए ?

काठमाडौं । लगातार बढ्दै गएको मोटरसाइकलको मूल्य पछिल्लो समय घट्न थालेको छ । कोभिड १९ को संक्रमण पश्चात् नेपालमा मोटरसाइकलको माग अत्याधिक बढेसँगै मूल्य पनि निरन्तर उकालो लागेको थियो ।

कोभिड संक्रमण अगाडि १ लाख ५० हजार यूनिट मात्रै दुई पाङ्ग्रे साधनको बिक्री हुने गरेकोमा एकाएक बढेर ३ लाख ५० हजार यूनिटसम्म पुग्यो । बजारमा मोटरसाइकलको बिक्री बढेसँगै मूल्यपनि निरन्तर बढ्यो ।

समयले फेरी बिक्री पहिलेकै अवस्थामा फर्कायो । अझ भनौं २०१९ को अवस्थाभन्दा पनि कमजोर ठाँउमा पुग्यो । अहिलेकै अवस्थामा वार्षिक १ लाख यूनिट बिक्री पुग्न पनि कठिन देखिन्छ । देशमा देखिएको आर्थिक संकटसँगै मोटरसाइकल बिक्रेता कम्पनीहरुले मोटरसाइकलको मूल्य घटाउन थालेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा एकपछि अर्को एसेम्बल प्लान्ट संचालनमा आएको र एसेम्बललाई दिइने कर छुट पनि निरन्तर रहेको कारण कम्पनीहरुले नयाँ मोटरसाइकलको मूल्य घटाउन थालेका हुन् ।

यसको सबैभन्दा ठूलो उदाहरण रोयल इनफिल्डका उत्पादन हुन् । रोयल इनफिल्डले एउटै मोटरसाइकलमा १ लाख ५० हजार रुपैयाँसम्मले मूल्य घटायो ।

रोयल इनफिल्डको अलावा टीभीएस मोटर्सको नेपालमा लागि आधिकारीक बिक्रेता कम्पनी जगदम्वमा मोटरर्सले अपडेट सहितको बिभिन्न सेग्मेन्ट फस्ट फिचर भएको अपाचे आरटीआर १६० फोर भीको स्पेशल एडिशन बजारमा सार्वजनिक गर्यो । यसको मूल्य अपाचे आरटीआर १६० फोर भीको पुरानो मोडलभन्दा कम तोकियो ।

फिचर थप भएर आएको अपाचे आरटीआर १६० फोर भीको स्पेशल एडिशन कम्पनीले ३ लाख ७४ हजार ९०० रुपैयाँमा विक्री सुरु गरेको हो । यसकोभन्दा कम फिचर भएको पुरानो मोडल अपाचे आरटीआर १६० फोर भीको ३ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ ।

फिचर थप भएर आएको मोटरसाइकलको मूल्य २४ हजार रुपैयाँले कम तोक्नुको पछाडि एसेम्बल नेपालमै हुनुलाई कारण मानिन्छ । ग्राहकले २४ हजार कम मूल्य तिरेर तीन राइड मोड, एडजष्टेवल ब्रेक÷क्लच लिभर भएको मोटरसाइकल लिन सक्नेछन् ।

त्यस्तै, सुजुकी मोटरसाइकल बिक्रेता कम्पनी भीजी सुजुकीले जिक्सर १५० को मूल्प २७ हजार रुपैयाँले कम गरेर बिक्री सुरु गरेको छ । कम्पनीले २०२३ मोडल जिक्सर १५० को मूल्य समायोजन गरेर बिक्री सुरु गरेको जनाएको छ ।

कम्पनीले यसअघि बिक्री गर्दै आएको २०२२ मोडल जिक्सरको मूल्य मूल्य ३ लाख ८९ हजार रुपैयाँ रहेको थियो । नयाँ जिक्सरको मूल्य ३ लाख ६२ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो ।

त्यसैगरी, बेनेली मोटरसाइकलको बिक्रेता कम्पनीले १२५ सीसी सेग्मेन्टकै स्कुटरको मूल्य घटाएर बिक्री थालेको छ । कम्पनीले १८० सीसी क्षमताको मोटरसाइकलको मूल्यमा समेत भारी कतौटी गरेर विक्री सुरु गरेको हो ।

कम्पनीले बेनेली पेनेरिया १२५ स्कुटरको मूल्य ३५ हजार रुपैयाँ र १८० एस निओनको मूल्य २५ हजार रुपैयाँ घटाएको हो ।

कम्पनीले हालै ल्याएको स्कीममा ३ लाख ४० हजार मूल्य भएको मोटरसाइकल बेनेली १८० को हरेक खरिदमा थाइल्याण्ड भ्रमणको प्याकेजसमेत दिएको थियो ।

नेपालमा नै एसेम्वल सुरु गरेको एमएडब्लू राइड्स प्रालिले यामाहा एफजेड एस भी ३ को स्याण्डर्ड भेरियन्ट नाम दिएर कम मूल्यमा एफजेडएस भी ३ सार्वजनिक गरेको थियो । यामाहाले भने फिचर कम गरेर कम मूल्य घटाएको हो ।


Back_to_top