काठमाडौं । विद्युतीय सवारीसाधन बिक्री गर्ने लक्ष्यका साथ नेपालमा आधिकारीक बिक्रेता तोकेर करिब आधा दर्जन ब्राण्ड नेपाल आउन लागेका छन् । यसअघि नै नेपाली बजारमा प्रबेश गर्ने घोषणा गरेका स्मार्ट, दिपल, एवोन, स्काइवेल जस्ता ब्राण्डले नेपालमा बिक्रेता नै नियुक्त गरिसकेका छन् ।
यसका अलावा भियतनामी ब्राण्ड भिनफास्ट, चिनियाँ ब्राण्ड नियो र एलआई अटो पनि नेपाल आउने ब्राण्डमा पर्छन् । यी ब्राण्डहरुले सन् २०२४ भित्रै नेपालमा नेटवर्क विस्तार सहित आफ्नो बिक्री सुरु गर्ने तयारी थालेको ब्यवसायीहरु बताउँछन् ।
अहिले चिनियाँ ब्राण्ड नेपाल ल्याउन स्थापित ब्राण्डको बिक्रेता रहेका ब्यवसायीक घरानाहरु लागि परेका छन् । विशेषगरी चिनियाँ उत्पादन विद्युतीय हुने र नेपालमा ईभीको बिक्री तिब्र गतिमा अगाडि बढेको कारण चिनियाँ ब्राण्ड नेपाल ल्याउन ब्यवसायीक घराना लागिपरेका हुन् ।
अहिले एमएडब्लू ग्रुप अन्तर्गत चांगन र सेरेस ब्राण्ड नेपाल आइसकेको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेटाको बिक्री गर्दै आएको छ भने, स्मार्ट र जिएसी एवोन ब्राण्डको आधिकारीक बिक्रेता लिएको छ । साथै, कम्पनीले लाइट कमर्शियल सेग्मेन्टमा केवाइसी र किङलङका उत्पादन ल्याएर बिक्री गर्दै आएको छ ।
अटोमोवाइल क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका आकाश गोल्छाले नयाँ ब्राण्ड नेपाल ल्याउने तयारी तिब्र बनाएका छन् । अहिले फोर्डको आधिकारीक बिक्रेता रहेका उनले ल्याउने नयाँ ब्राण्डको नाम भने बाहिर ल्याएका छैनन् ।
त्यसैगरी चिनियाँ ब्राण्डको खोजी गरिरहेका दुर्गड सन्सका विवेक दुगडले पनि नयाँ ब्राण्ड नेपाल ल्याउँदैछन् । उनले गेटोर ब्राण्डका विद्युतीय साधन नेपाल ल्याउन एजेन्सी हस्ताक्षर गरिसकेका छन् ।
अहिले नै ग्रेटवाल मोटर्स, एमजी र मेक्सस ब्राण्डको आधिकारीक बिक्रेता लिएर गाडी बिक्री गर्दै आएको विशाल ग्रुप अन्तर्गत फेरी अर्को ब्राण्ड नेपाल आउने भएको छ । विशाल ग्रुप अन्तर्गत सिनोगोल्ड ब्राण्ड पनि चाँडै नेपाल आउनेमा पर्छ ।
यसका अलावा अहिले बजारमा कारको ब्यापार गरिरहेका र डिलरसिप चलाई रहेका धेरैले नयाँ चिनियाँ ब्राण्डका गाडी नेपाल ल्याउन प्रयास गरिरहेका छन् । यसरी तँछाड मछाड गर्दै नेपाल आउन लागेका कारहरुको पर्फमेन्स कस्तो हुन्छ, त्यो हेर्न भने अझै केही वर्ष कुर्नु पर्ने हुन्छ ।