इलेक्ट्रीक स्कुटरको ब्याट्री वारेन्टीमा दुई ठूला योजना, टेल्जी र टीभीएसमा कुनमा बढी फाइदा ?

काठमाडौं । यो साता नेपाली बजारमा इलेक्ट्रीक स्कुटरको ब्याट्रीको वारेन्टीमा दुई ठूला घोषणा भएका छन् ।

अधिकांश इलेक्ट्रीक स्कुटर बिक्रेताहरूले ब्याट्रीमा २० हजार किलोमिटर वा २ वर्षको वारेन्टी दिइरहेको अवस्थामा १ लाख किलोमिटर र लाइफ टाइम वारेन्टीसम्मको घोषणा भएको हो ।

टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी योम मा ई मोटर्सले टेल्जी लायन स्कुटर ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी घोषणा गरेको छ ।

त्यस्तै, टीभीएस मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनी जगदम्बा मोटर्सले टीभीएस आइक्यूबमा लाइफ टाइम वारेन्टीको घोषणा गरेको छ ।

कुनको कस्तो छ वारेन्टी योजना ?

योम मा ई मोटर्सले टेल्जी लायन स्कुटरको ब्याट्रीमा १ लाख किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी दिएको छ । कम्पनीले १ लाख किमी वा ५ वर्ष जुन पहिला आउँछ सोही आधारमा वारेन्टी लागू हुने बताएको छ । यस अवधिमाभर ब्याट्रीको वारेन्टीका लागि कुनै शुल्क तिर्नुनपर्ने जनाएको छ ।

योम मा ई मोटर्सले टेल्जी लायन ३ लाख ३३ हजार रुपैयाँ अधिकतम खुद्रा मूल्य तोकेर बिक्री गर्दै आएको छ । कम्पनीले १६० किलोमिटर रेन्ज दिने दावी गरेको यो स्कुटरमा नयाँ वर्ष स्कीममा १५ हजार नगद छुट उपलब्ध गराएर ३ लाख १८ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।

त्यस्तै, जगदम्बा मोटर्सले आइक्यूब स्कुटरको ब्याट्रीमा लाइफ टाइम वारेन्टी दिएको छ । तर, कम्पनीले यसमा केही शर्तहरू तोकेको छ ।

कम्पनीका अनुसार ब्याट्रीमा लाइफ टाइम वारेन्टी पाउन ग्राहकले स्कुटरको खरिद मूल्य बाहेक झन्डै १ लाख रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्नेछ । कम्पनीले १०० किमी रेञ्ज दिने दाबी गरिएको आइक्यूबको बेस भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ । सो मूल्यमा स्कुटर किनेपछि ग्राहकले ३ वर्षसम्म मासिक ३ हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्नेछ ।

३ वर्षको अवधिमा ब्याट्रीमा कुनै खराबी आएमा कम्पनीले नै ब्याट्री परिर्वतन गरिदिने बताएको छ । ३ तीन वर्षको समय अवधिपछि मासिक १ हजार ५०० रुपैयाँमा भ्याट थप गरेर आफूले चाहेको समयसम्म वारेन्टी लिन सकिने छ ।

अन्य स्कुटर बिक्रेता कम्पनीहरूले २० हजार किलोमिटर वा २ वर्षको ब्याट्री वारेन्टी दिइरहेको अवस्थामा दुवै कम्पनीको वारेन्टीले ग्राहकलाई फाइदा नै पुग्ने देखिन्छ ।


Back_to_top