बेइजिङ । चीनको बेइजिङमा अप्रिल २५ देखि चाइना अटो शो २०२४ सुरू भएको छ । हरेक दुई वर्षमा आयोजना हुँदै आएको चाइना अटो शोलाई ‘बेइजिङ अटो शो’ भनेर पनि सम्बोधन गरिन्छ ।
हिजो अप्रिल २५ र आज २६ तारिखलाई मिडिया डेको रूपमा हरेक सहभागी ब्राण्डले नयाँ उत्पादन प्रदर्शनी गरिरहेका छन् । झन्डै १०० ब्राण्डले सहभागिता जनाएको अटो शो २०२४ मा विश्वका धेरै देशबाट अबलोकनकर्ताहरू आएका छन् ।
केही वर्ष अघिसम्म चिनियाँ बजारमा यूरोपियन र जापानी ब्राण्डले औसत मूल्यका गाडीमा केन्द्रित भएर उत्पादन र प्रदर्शनी गर्ने गरेका थिए । अहिले समय फेरिएको छ । चिनियाँ ब्रान्ड नै महंगा र लग्जरी गाडी उत्पादनमा केन्द्रित छन् ।
चीनमा सुरू भएका न्यू इनर्जी भेहिकल उत्पादन गर्ने ब्राण्ड चेरी, ग्रेटवाल, बीवाइडीदेखि स्टार्ट अप कम्पनी लिप मोटर्ससम्मले ठूला र मस्कुलर गाडी उत्पादन थाल्ने संकेत अटो शोबाट दिएका छन् । त्यही अमेरिकी ब्राण्ड फोर्ड, जनरल मोटर्सदेखि क्याडिलेकसम्मले आफूलाई चिनियाँ बजारको महत्व धेरै भएको प्रष्ट देखिने गरी काम गरेका छन् ।
उसोत जापानी ब्राण्ड टोयोटाभन्दा उसको लग्जरी ब्राण्ड लेक्सस र सुपर लग्जरी ब्राण्ड क्राउनको उपस्थितले चिनियाँ बजारको महत्व र त्यहाँ बढ्दै गएको लग्जरी कारको मागलाई झल्काउँछ । यूरोपियन कारको निकै ठूलो दबदबा रहेको चीनमा आफ्नो शाख जोगाउन फक्सवागेन, मर्सिडिज, मिनी, पोर्श्चे, बीएमडब्ल्यू जस्ता ब्राण्ड लागेको प्रष्टै देखिन्छ ।
नेपालीले फाइदा पाउन मुस्किल
बेइजिङ अटो शोमा प्रदर्शन भएका गाडी नेपालले महत्व दिनै नसक्ने किसिमका छन् । पावर र टेक्नोलोजीको मिश्रणमा तयार भएका अधिकांश कार हाम्रो बजेटमा पर्दैनन् । ठूलो पावर धेरै कर लगाउने हाम्रो सरकारी नीतिको कारण ठीकठाक मूल्यका यी गाडी पनि नेपालमा निकै महंगो हुनेछ ।


