काठमाडौं । जर्मनी प्रिमियम मोटरसाइकल ब्राण्ड बीएमडब्लू मोटार्डले सेल्फ ब्यालेन्सिङ कन्सेप्ट डिजाइनमा नयाँ मोटरसाइकल निर्माण गर्ने भएको छ ।
कम्पनीले दुईपाँग्रे सेग्मेन्टमै पहिलो पटक नयाँ कन्सेप्टमा सेल्फ ब्यालेन्सिङ प्रविधियुक्त मोटरसाइकल बनाउने भएको हो । हालै कम्पनीले नयाँ मोडलका लागि पेटेन्ट फाइल समेत दर्ता गराइ सकेको छ ।
बीएमडब्लूले हालै सार्वजनिक गरेको पेटेन्ट डिजाइनले सेल्फ ब्यालेन्सिङ मोटरसाइकललाई व्यवहारिक रूपमा उत्पादन गर्न सकिने प्रष्ट पारेको छ । पेटेन्ट कन्सेप्ट डिजाइनका आधारमा मोटरसाइकल पेराभस मोनो रेसर जस्तै देखिन्छ ।
मोटरसाइकलको साइडमा सपोर्टका लागि साना स्टेबलाइजर ह्वील राखिएको छ । मोटरसाइकल स्लो हुँदा वा रोकिन लाग्दा यी ह्वीलहरू अटोमेटिक रूपमा बाहिर निस्कन्छन् र साधनलाई नियन्त्रणमा राख्छन् । उच्च गतिमा भने यी ह्वीलहरू बाहिर देखिँदैन भित्र बस्छन् ।
योे सिस्टम साधारण मोटरसाइकल तथा पूर्ण रूपमा बन्द (इनक्लोज) डिजाइन भएको दुवै साधनमा प्रयोग गर्न सकिने छ ।

उपलब्ध जानकारी अनुसार बीएमडब्लूको इनक्लोज सेल्फ ब्यालेन्सिङ डिजाइन निकै कम्प्याक्ट र सुरक्षित देखिन्छ । दुवै साइडमा एउटा ठूलो ह्वीलको सट्टा चार–चार वटा साना ह्वील प्रयोग गरिएको छ ।
यी ह्वीलहरू मोटरसाइकलको भित्री संरचनाभित्र फिट गरिएका छन्, जसलाई बाहिरबाट देखिँदैन । मेटल आर्ममार्फत मुख्य ह्वीलसँग जडान गरिएको यो सिस्टमले उचाइ र एङ्गल स्वतः एड्जस्ट गर्न सक्छ । यो सिस्टमले स्पीड, लेन एंगल र सेन्सर डाटा अनुसार प्रतिक्रिया दिन्छ ।
मोटरसाइकलमा इनरटेल मेजरमेन्ट युनिट (आईएमयू) सेन्सर, स्पीड सेन्सर, सेमि एक्टिभ सस्पेन्सन सेटअप लगायतका निकै आधुनिक टेक्नोलोजी प्रयोग हुने देखिन्छ । यी सबैले मिलेर मोटरसाइकल स्टार्ट गर्दा, रोकिदा वा लड्ने जोखिम हुँदा स्टेबलाइजर ह्वील सक्रिय गराउन मद्धत गर्नेछन् ।
बीएमडब्लूको यो नयाँ कन्सेप्ट मोडल अन्य कम्पनीहरुले देखाएका अवधारणाहरूभन्दा बढी व्यावहारिक देखिन्छ । तर, यसको उत्पादन कहिले सुरू हुन्छ अझै स्पष्ट छैन ।
यो प्रविधि धेरै महँगो हुने भएकाले प्रिमियम सेग्मेन्टमै सीमित हुने अनुमान गर्न सकिन्छ ।


