रिङरोडमा १६० जना बोक्ने ठूलो बस संचालन गर्न ४ कम्पनी इच्छुक

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा बस र्यापिड ट्रान्जिट (बीआरटी) निर्माण र सञ्चालनका लागि चार लगानी प्रस्ताव आएको छ । चक्रपथमा द्रुतगतिको बस सेवा सञ्चालनका लागि उक्त प्रस्ताव आएको हो । 

चक्रपथको २७.३ किमिमा बीआरटी निर्माण र सञ्चालन गर्न चार कम्पनीले इच्छा देखाएको लगानी बोर्डले जनाएको छ । गत चैत १५ र १६ मा सम्पन्न लगानी सम्मेलनमा बोर्डले करिब १६ अर्ब ५४ करोड (१४९.५० मिलियन अमेरिकी डलर) को लागत लाग्ने बीआरटी परियोजना ‘शो केस’ गरिएको थियो ।

बोर्डका अनुसार बीआरटी परियोजनामा लागनी गर्न ईच्छुकले आउँदो २० मेसम्म लगानी प्रस्ताव गर्न सक्नेछन् । 

सरकारले आर्थिक वर्ष ०७१/७२ कै बजेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न र्यापिड मास ट्रान्सापोर्टको योजना ल्याएको थियो । तर उक्त योजना कार्यान्वयन भने हुन सकेको छैन । 

सरकारी योजना अनुसार चक्रपथमा दुईवटा ‘डेडिकेटेड लेन’ बीआरटी सञ्चालन हुनेछ । ७ देखि ८ मिटरको लेन यसका लागि छुट्याउने योजना छ । १६० यात्रु क्षमताका ७० देखि ७५ वटा लामो आकारको विद्युतीय बस यो लेनमा गुड्नेछन् ।

बीआरटी परियोजना अन्तर्गत २७.३ किमि रिङरोडमा २६ देखि ३० वटा चढ्ने÷ओर्लने स्टेसन हुनेछन् । यात्रुको सहजताका लागि स्टेशनमा बस आउने–जाने समयतालिकासहित आवश्यक सूचना प्रवाहित हुने डिजिटल डिस्प्ले राखिने महत्वकांक्षि योजना रहेको छ । 

विद्युतीय बस चार्ज गर्न ३० वटा आधुनिक चार्जिङ स्टेशन बनाउने योजना छ । दैनिक २० घण्टा सञ्चालन गर्ने लक्ष्य राखिएको बीआरटी परियोजा सार्वजनिक–निजी साझेदारी (बूट) मोडेलमा निर्माण गरिनेछ ।

इच्छा देखाएको निर्माण कम्पनीले अब योजना, डिजाइन, निर्माण, वित्तीय व्यवस्थापन, सञ्चालन र मर्मतको काम गर्नुपर्नेछ ।

सरकारी योजना अनुसार स्वीकृति पाएपछि निर्माण कम्पनीले २ वर्ष निर्माण सक्नु पर्नेछ । निर्माण कम्पनीले ३० वर्ष सञ्चालन गरेर सरकारलाई हस्तान्तरण गर्ने छ भने निर्माण अवधिमा परियोजनाका लागि आवश्यक सहायताले सरकारले गर्नेछ ।

के हो बीआरटी ?

विकसित देशमा सहरी यातायात व्यवस्थित गर्न धेरै यात्रु बोक्ने ठूला र लामा बस सञ्चालन गर्नेगरी ल्याइएको अवधारण बस र्यापिड ट्रान्जिट (बीआरटी) हो ।

यसका लागि छुट्दै बस–वे अथवा ट्रान्जिट–वेको व्यवस्था गरिएको हुन्छ । उक्त वेमा धेरै यात्रु क्षमताका ठूला बस गुडाइन्छ । छुट्टै डेडिकेटेड लेनमा सञ्चालन हुने भएकाले यसमा यात्रा गर्दा ट्राफिक जामको समस्या भोग्नु पर्दैन । बीआरटीको अवधारण पहिलो पटक सन् १९७४ मा ब्राजिलको क्युरिटीबाट सुरु भएको हो । सहरी यातायात व्यवस्थित गर्न यो बीआरटी अवधारणालाई धेरै देशले रुचाएका छन् । 


Back_to_top