काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीको ‘एटो-३’ नेपालमा तीन भेरियन्टमा उपलब्ध हुने भएको छ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले नयाँ भेरियन्ट थप गरेसँगै एटो-३ तीन भेरियन्टमा उपलब्ध हुने भएको हो ।
‘हामीले बजेट र त्यसपछिको अवस्थालाई मध्यनजर गर्दै एटो-३ को तीन भेरियन्ट उपलब्ध गराउने निर्णय गरेका छौं । यसले बजारमा बीवाइडी एटो-३ चढ्न चाहनेले आफ्नो बजेट अनुसार छनोट प्राप्त गर्न सक्नेछन्’, इंकको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन् ।
कम्पनीले एटो-३ लाई दुई ब्याट्री अप्सन (५० र ६० किलोवाट आवर) र २ मोटर अप्सन (१०० र १५० किलोवाट) मा बजारमा ल्याउने छ । अन्तर्राष्ट्रिय बजारमा यसअघि नै उपलब्ध एटो-३ को ५० किलोवाट आवर क्षमताको ब्याट्री भर्सन नेपालमा नयाँ भेरियन्टको रुपमा थप भएर आउन लागेको हो ।
कम्पनीले यसलाई पनि १०० किलोवाट क्षमताको मोटरको साथ ल्याउने छ। एक पटकको सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दावी गरिएको यो भेरियन्ट सबैभन्दा सस्तो हुनेछ ।
त्यसैगरी १५० किलोवाट क्षमताको मोटर र ६० किलोवाट आवरको ब्याट्री भएको भर्सन सबैभन्दा महंगो मोडल बन्नेछ ।

मूल्यमा कति फरक ?
साइमेक्स इंकले आज एटो-३ का तीन वटै भेरियन्टको मूल्य सार्वजनिक गरेको छ । अहिले कम्पनीले बिक्री गर्दै आएको ६० किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको मोटर भएको भेरियन्टको मूल्य ६५ लाख ८८ हजार रूपैयाँ तोकेको छ । कम्पनीले सुरूवाती भेरियन्टमा ल्याएको ५० किलोवाट आवर क्षमताको ब्याट्री भएको भेरियन्टको मूल्य ५५ लाख ९९ हजार तोकेको हो ।
सुरुमा नेपाल आएको १५० किलोवाट आवर क्षमताको एटो-३ को मूल्य भने ८१ लाख ९९ हजार मूल्य तोकिएको छ । बजेटमा १०० देखि २०० किलाेवाटकाे माेटर भएकाे इभीमा दिएकाे छुटका कारण याे भेरियन्टकाे मूल्य करिब ८ लाख घटेकाे हाे । कम्पनीले ६० किलोवाट आवर ब्याट्री भएकाे माेडलमा स्पेशल फरेस्ट ग्रिन कलर अप्सन समेत ल्याउने भएको छ । यसको मूल्य भने १ लाख थप अर्थात ६६ लाख ८८ हजार र ८२ लाख ९९ हजार हुनेछ ।
फेरिएला फिचर ?
नयाँ आउने ५० किलोवाट आवरको ब्याट्री जडान भएको स्टायण्डर्ड भेरियन्टमा केही फिचर कम भएर आउने अनुमान गरिएपनि साइज, डिजाइन, मोटर पावर समान रहने छ ।
यसअघि सफलताको झण्डा गाड्न सुरु गरेको एटो-३ ले परिवर्तित समयमा कस्तो ब्यापार गर्छ त्यो भने हेर्न बाँकी नै रहेको छ ।

५० किलोवाट आवरको ब्याट्रीका बारेमा
कम्पनीले यसमा दिएको ५० किलोवाट आवरको ब्याट्रीलाई ७.४ किलोवाट र ११ किलावाट क्षमताको एसी चार्जरले चार्ज गर्न सकिन्छ । यसलाई एसी चार्जरको प्रयोगबाट चार्ज गर्दा करिब ८ घन्टा ३० मिनेट लाग्ने छ । साथै, यसलाई ८८ किलोवाट क्षमताको डिसी चार्जरले पनि चार्ज गर्न सकिन्छ । उक्त चार्जरले चार्ज गर्दा ३९ मा ८० प्रतिशत चार्ज हुन्छ ।
सुरक्षको लागि फिचर
सुरक्षाको लागि यो एसयूभीमा अगाडि भ्यान्टीलेटड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ । यसका साथै ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल जस्ता आधुनिक फिचर पाउन सकिन्छ ।
त्यसैगरी, अटोमेटीक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट, ३६० डिग्री क्यामेराले यसलाई सानदार बनाएको छ ।

प्रिमियम क्याविन
एटो-३ को इन्टेरियर पनि निकै आकर्षक रहेको छ । फिटनेस र म्यूजिकको थिममा तयार भएको इन्टेरियरले जो कसैलाई लोभ्याउने छ । मल्टीफङ्सनल स्टेरियङ ह्वील, ५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, लेदर सिट, फोल्डिङ रियर सिटले यात्रुलाई मनोरन्जनसँगै आरामदायी यात्रा दिलाउने छ ।
चालकको सहजता अनुसार ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पीकरले यसलाई लोडेड एसयूभी बनाएको छ ।


