परिक्षणमा प्रिमियम इलेक्ट्रीक स्कुटर, केटीएम वा हस्कभर्ना कुन ब्राण्डमा आउला ?

काठमाडौं । केटीएम र हस्कभर्नाको सहकार्यमा आउने तयारीमा रहेको इलेक्ट्रीक स्कुटर पहिलो पटक परिक्षणमा देखिएको छ ।

हालसम्म यो स्कुटर कुन ब्राण्ड नेममा आउछ भन्ने एकिन भएको छैन । योसँगै केटीएम हस्कभर्ना इलेक्ट्रीक स्कुटरमा के कस्ता फिचर होलान भन्ने धेरैको चासोको विषय हुन सक्छ ।

परिक्षणको क्रममा देखिएको उक्त स्कुटर राइडरले केटीएमको राइडिङ गियर्स लगाएको देख्न सकिन्छ । त्यस्तै स्कुटरमा प्रयोग भएको केही पार्टसहरुले यसलाई केटीएम ब्राण्ड नेममा आउने संकेत गर्छ ।

तर, यसमा प्रयोग भएको इन्डिकेटर भने हस्कभर्नाबाट लिइएको स्पष्ट देखिन्छ । यसअघि नै हस्कभर्नाले इलेक्ट्रीक स्कुटरको कन्सेप्ट मोडल तयार पारिसकेको कारण यो स्कुटर हस्कभर्ना ब्राण्ड नेममा आउने अनुमान गर्न सकिन्छ ।

यसअघि हस्कभर्नाले तयार पारेको कन्सेप्ट मोडलमा ४५ किलोमिटर प्रतिघन्टाको टप स्पीड रहेको थियो भने यसमा ४ किलोवाटको मोटर प्रयोग गरिएको थियो । कम्पनीले ८ किलोवाट क्षमताको मोटरमा समेत काम गर्दै आएको थियो ।

परिक्षणमा देखिएको नयाँ म्याक्सी डिजाइन स्कुटरमा आलमूनियम स्वीङआर्म, टचस्क्रीन डिस्प्ले, मिड माउन्ट मोटर, फ्लोर बोर्ड माउन्टेड ब्याट्री प्याकका साथै १४ इन्च ह्वील देख्न सकिन्छ ।

कम्पनीले हालसम्म यो स्कुटरको बारेमा आधिकारिक जानकारी बाहिर ल्याएको छैन ।


Back_to_top