बिवाइडीले म्याड्रीड पठायो १५ इलेक्ट्रीक बस

चिनीयाँ इलेक्ट्रीक सवारीसाधन उत्पादक कम्पनी बिवाइडीले स्पेनको म्याड्रीड महानगरपालीकालाई १५ नयाँ इलेक्ट्रीक बस निर्यात गरेको छ । कम्पनीले बिक्री गरेको १२ मिटर लामो उक्त बस अब म्याड्रीड सहरमा गुड्ने भएको हो ।

लकडाउनको कारण लामोसमय बन्द रहेको म्याड्रीड सहरमा अब यी १५ सहित २१०० बसले सार्वजनिक यातायातको सेवा संचालन गर्ने छन् । आगामी दुई वर्ष भित्र म्याड्रीड सहरमा सबै बसहरु इलेक्ट्रीक बनाउने लक्ष्यका साथ काम अगाडि बढेको बताइएको छ ।

बिवाइडीले यसअघि स्पेनका बार्सिलोना, भ्यालेन्सीया लगायतका सहरलाई इलेक्ट्रीक बस बिक्री गरिसकेको छ । अब कम्पनीले यूरोपमा नै यस्ता बस उत्पादन गर्दै बिक्री वितरण सुरु गर्ने जनाइएको छ ।

कोभिड १९ को संक्रमणपछि विश्वभर वातावरणमा सुधार आएको भन्दै वातावरणमैत्री सवारीसाधनको प्रयोग बढाउनु पर्ने धारणा आइरहेको छ । यस्तोमा लामो समयदेखि इलेक्ट्रीक सवारीसाधन, व्याट्री उत्पादन जस्ता क्षेत्रमा काम गर्दै आएको बिवाइडीले आक्रमक रुपमा बजार बढाउने देखिन्छ ।


Back_to_top