यस्तो छ बीवाइडीको इलेक्ट्रीक र प्लगइन हाइब्रिडको विक्री तथ्यांक

काठमाडौं । न्यू इनर्जी भेहिकल उत्पादन र विक्रीमा बीवाइडीले टेस्लालाई उछिनेको तथ्यांक आइरहेको छ । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले ब्याट्री इलेक्ट्रीक भेहिकल र प्लगइन हाइब्रिड भेहिकल उत्पादन गर्दै आएकोले टेस्लालाई उछिनेको हो ।

बीवाइडीले सन् २०२२ को अन्त्यसम्ममा मासिक २ लाख ५० हजार यूनिट कार विक्री गर्ने लक्ष्यसहित अहिले आफ्ना उत्पादन विश्वका ७० भन्दा धेरै देशमा विक्री सुरु गरिसकेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा ब्याट्री इलेक्ट्रीक भेहिकल मात्रै विक्री सुरु गरेको कारण ईभीको विक्रीमा उछाल आएको हो ।

बीवाइडीले अक्टोबर २०२२ मा २ लाख १७ हजार ५१८ यूनिट ईभी र प्लगइन हाइब्रिड कार विक्री गरेको छ । यो विक्रीमा ब्याट्री इलेक्ट्रीक भेहिकल (बीईभी)को संख्या १ लाख ३ हजार १५७ यूनिट रहेको छ । जुन अघिल्लो वर्षको अक्टोबरको तुलनामा १९५ प्रतिशतले बढी हो ।

त्यसैगरी कम्पनीले प्लगइन हाइब्रिड कारको विक्रीमा पनि १५० प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले अक्टोबरमा १ लाख १४ हजार ३६१ यूनिट प्लगइन कार विक्री गर्न सफल भएको छ ।

अक्टोबरमा बीवाइडीले सङ मोडल ५६ हजार ८४३ यूनिट विक्री गरेको छ । यो मोडल प्लइन हाइब्रिड र ब्याट्री ईभी दुबै अप्सनमा उपलब्ध छ । त्यस्तै, अर्को दुबै अप्सनमा उपलब्ध क्यून मोडलको विक्री ३४ हजार ६७० यूनिट भएको छ । हान मोडल पनि दुबै भर्सनमा उपलब्ध रहेको छ । यसलाई कम्पनीले ३१ हजार ६१४ यूनिट विक्री गरेको तथ्यांकमा देखिएको छ ।

ब्याट्री इलेक्ट्रीक यूआन (अन्तर्राष्ट्रिय बजारमा एटो ३) को विक्री २७ हजार ५४८ यूनिट, डल्फीन २५ हजार ३३६ यूनिट, टाङ १७ हजार १६१ यूनिट र सिल ईभीको ११ हजार २६७ यूनिट विक्री गर्न सफल भएको छ ।

 


Back_to_top