काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले आफ्नो नाफामा १७१ प्रतिशतसम्मले वृद्धि गरेको छ । कम्पनीले अघिल्लो वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा आफ्नो नाफामा उच्च वृद्धि गरेको हो ।
बीवाईडीले सन् २०२३ को ६ महिनामा १२ लाख ५५ हजार ६३७ यूनिट न्यू इनर्जी भेहिकल बिक्री गर्दै नाफामा उच्च वृद्धि गरेको हो । कम्पनीले चालु वर्षको ६ महिनामा करिब १०.५ देखि ११.७ बिलियन यूआन अर्थात् १.६४ बिलियन डलर हाराहारी नाफा गर्ने प्रक्षेपण गरेको हो ।

कम्पनीले यो वर्षको मार्च अन्तिमसम्ममा ४.१३ बिलियन युआन नाफा कमाएको थियो । उसले दोस्रो क्वाटरमा मात्रै नाफा ६.३७ देखि ७.५७ बिलियन युआन पुर्याएको अनुमान छ ।
बीवाइडीले दोस्रो यस वर्षको दोस्रो क्वाटरमा ७ लाख ३ हजार ५६१ यूनिट न्यू इनर्जी भेहिकल डेलिभरी दिएको थियो । जुन अघिल्लो वर्षको सोहि क्वाटरको तुलनामा ९८.१७ प्रतिशतले बढी हो ।
एकै पटक तीन देशमा बिस्तार
बीवाइडीले विश्व बजारमा आफ्ना उत्पादन तिब्र गतिमा बिस्तार गरिरहेको छ । कम्पनीले चिली, मोरक्को र ब्रुनाईमा आफ्नो ब्यापार बिस्तार गरेको हो ।
जुलाई १२ तारिखमा चिलीमा डल्फीन प्रिमियम ह्याचव्याक मोडल सार्वजनिक गर्दै आफ्नो उपस्थिति जनाएको छ । त्यसैगरी जुलाई १४ तारिखमा कम्पनीले ब्रुनाईबाट एटो-३ को बिक्री सुरु गरेको हो ।
त्यसैगरी, जुलाई १५ तारिखमा मोरक्कोबाट पनि आफ्ना उत्पादन बिक्री सुरु गरेको हो । बीवाइडीले मोरक्कोमा हान ईभी, टाङ ईभी र एटो-३को बिक्री सुरु गरेको जनाएको छ ।

