काठमाडौं । विद्युतीय कारको विक्री बढ्दै गएसँगै आम मानिसमा यस प्रतिको चासो तीव्र रूपमा बढ्दै गएको छ । विशेषत २०७५ सालदेखि क्रमिक रूपमा बढ्दै गएको इलेक्ट्रीक कारको बजार २०७८ सालको अन्त्यसम्म आइपुग्दै निकै ठूलो भइसकेको छ ।
सरकारले विद्युतीय सवारी साधनमा दिएको कर छुट, विक्रेता कम्पनीहरूले तयार गरेको थोरै भए पनि चार्जिङ स्टेशन र दोस्रो सवारी साधनको रूपमा बजारले स्वीकार गरेको कारण विद्युतीय गाडी विक्री बढ्दै गएको थियो । अब समय परिवर्तन हुँदैछ । परिवर्तित समयमा विद्युतीय गाडी विक्री हुनुको पछाडि थप केही कारणहरू छन् ।
नेपालमा अहिले चीन, कोरिया, भारत र अमेरिकाबाट विद्युतीय गाडी आयात हुँदै आएको छ । विशेषगरी चिनियाँ ब्राण्ड एमजी, बीवाइडी र ओराका विद्युतीय कार बजारमा उपलब्ध छन् भने सानो कार दीगो र डेरीले पनि चीनबाट विद्युतीय कार ल्याउने गर्छन् ।
नेपालमा अहिले चीन, कोरिया, भारत र अमेरिकाबाट विद्युतीय गाडी आयात हुँदै आएको छ ।
कोरियन ब्राण्ड हुन्डाई र किया, भारतीय ब्राण्ड टाटा र महिन्द्राले पनि नेपालमा राम्रो संख्यामा गाडी आयात र विक्री गर्दै आएका छन् । यी ब्राण्डका अलावा अमेरिकी ब्राण्ड टेस्लाले पनि नेपालमा गाडी विक्री गर्दै आएको छ ।
ब्राण्डको संख्यामा वृद्धिसँगै गाडीको विक्री पनि बढ्दै गएको छ । त्यसैले यही आर्थिक वर्षमा विद्युतीय कारको विक्री पनि १० प्रतिशतभन्दा माथि पुग्ने आकलन गर्न सकिन्छ । त्यसको लागि निम्न कुराले बाटो देखाएको मान्न सकिन्छ ।
१. सरकारी कर : पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा २०० प्रतिशतभन्दा न्यून कर विद्युतीय गाडीमा लाग्दै आएको छ । यसले महंगो टेक्नोलोजीको बाबजुद विद्युतीय कार नेपालमा सस्तो रहेको छ । उदाहरणको लागि हामी टाटा नेक्सनलाई हेर्न सक्छौं । नेक्सनको टप भेरियन्ट पेट्रोलको मूल्य ५२ लाख पर्छ भने इलेक्ट्रीकको टप भेरियन्टको मूल्य ४२ लाख मात्रै पर्छ ।
यसले गाडी किन्ने मानिसलाई आकर्षित गरिरहेको छ । एड्भान्स टेक्नोलोजी र कम मूल्यको कारण विद्युतीय गाडी किन्न मानिसहरू आकर्षित भइरहेका छन् ।
२. चार्जिङ पूर्वाधार विस्तार : अघिल्ला वर्षसम्म केही स्थानमा मात्रै चार्जिङ स्टेशन भनौं वा चार्ज गर्ने सुविधा उपलब्ध थियो । तर, अब निजी कम्पनीदेखि नेपाल विद्युत् प्राधिकरणले पनि चार्जिङ स्टेशन निर्माणमा अग्रसरता देखाएका छन् ।
टाटा, एमजी, बीवाइडी जस्ता ब्राण्डले ३० किलोवाट माथिका चार्जर जडान गरिरहेका छन् भने नेपाल विद्युत् प्राधिकरणले ६० किलोवाट क्षमताका डीसी फास्ट चार्जर जडान सुरू गरेको छ । पहिलो चरणमा विभिन्न ३२ स्थानमा ५१ वटा चार्जर जडान प्रक्रिया अगाडि बढिसकेको छ । अबको ४ महिनामा यी स्थानमा चार्जिङ स्टेशन संचालनमा आउने छन् ।
३. वातावरणमैत्री : वातावरण प्रति नेपालमा धेरै मानिस सजग भएको देखिन थालेको छ । प्रकृतिक विपत्तीको कारण नेपालले भोग्दै आएको समस्या र नेपालमै स्वच्छ ऊर्जा उत्पादनमा आएको तीव्रताको कारण पनि मानिसलाई विद्युतीय कार प्रति लगाव बढाउँदै लगेको छ । ध्वनी प्रदूषणसमेत नहुने भएपछि मानिसहरू यसमा आकर्षित भएका हुन् ।
४. सहज बैंकिङ र थोरै डाउन पेमेन्ट : नेपालमा विद्युतीय कारमा जान प्रेरित गर्ने काम बैंकिङ सुविधाले पनि गर्दै आएको छ । अहिले पेट्रोलबाट चल्ने गाडी व्यक्तिले किन्दा ५० प्रतिशतभन्दा माथि कर्जा सुविधा पाउन सकिँदैन । तर, विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा सुविधा पाइन्छ । साथै, केही बैंक तथा वित्तीय संस्थाले आफ्नो बेसरेटमा नै विद्युतीय गाडीमा कर्जा दिइरहेका छन् ।
५. संचालन खर्च कम : गाडी किनेपछि त्यसको संचालन खर्च निकै महत्वपूर्ण हुन्छ । विद्युतीय गाडीको संचालन खर्च मोटरसाइकलकोभन्दा पनि कम आउँछ । बढ्दो पेट्रोल र डिजेलको मूल्यको कारण विद्युतीय गाडीमा निकै सस्तो मूल्यमा प्रति किलोमिटर यात्रा गर्न सकिन्छ ।
विद्युतीय गाडीमा धेरै रिमुभएबल पार्टस् नहुने भएकोले यसको मर्मत खर्च पनि कम आउँछ । साथै पेट्रोलियम पदार्थबाट चल्ने गाडी जस्तो व्यापक सर्भिसिङ यसलाई आवश्यक पर्दैन ।
६. नयाँ टेक्नोलोजी : विद्युतीय गाडीको विकाससँगै नयाँ–नयाँ टेक्नोलोजीको विकास भइरहेको छ । सुरक्षित, आरामदायी र आधुनिक फिचर विद्युतीय गाडीको पहिचान हो । त्यसका लागि कम्पनीहरूले अर्बौं रकम खर्चिरहेका छन् । विद्युतीय गाडीको विकास र विस्तारसँगै आर्टिफिसियल इन्टेलिजेन्स जस्ता टेक्नोलोजीको विकास भएको हो ।

