ट्याक्सी र आफन्त छाड्न जानेलाई विमानस्थल प्रबेशमा रोक

काठमाडौं । बिमस्टेक सम्मेलन अवधिभर यात्रुबाहेक अरुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश निषेध गरीने भएको छ । विमानस्थलको क्षमता, पाहुनाको सुरक्षा र सहज आवत जावतलाई मध्यनजर गर्दै सम्मेलन अवधिभर यात्रुबाहेक अन्यलाई प्रवेश निषेश गर्न लागेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयले यात्रु स्वयम् सक्षम भएको अवस्थामा सहयोगीलाई विमान स्थलको गोल्डेन गेटबाट भित्र प्रवेश गर्न नदिने सूचना जारी गरेको छ । तर, कुनै यात्रु विरामी, अशक्त र सहयोगी नभई नहुने अवस्थामा भने एकजना सहयोगीले मात्रै गोल्डेन गेटभित्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ ।

सहयोगीका रुपमा भित्र जानेले पनि १५ देखि २० मिनेटमै विमानस्थल बाहिर निस्किसक्नुपर्ने विमानस्थल कार्यालयले जनाएको छ । 

अब यात्रु लिएर विमनस्थल प्रवेश गरेको सवारी पनि पार्किङतर्फ नगई सीधै बाहिर निस्कनु पर्नेछ । विमानस्थल प्रवेश पास भएका सवारी साधानबाहेक खाली ट्याक्सीलाई गोल्डेन गेटबाटै प्रवेश निषेध गरिएको छ । 

यात्रुसँग पहिले नै सम्पर्क, पहिचान भई लिन आउने होटेलका वा निजी गाडीको हकमा जहाज अवतरण हुनु भन्दा ५ देखि १० मिनेट अगाडि मात्रै प्रवेश अनुमति लिइ तत्काल फिर्ता हुनैपर्ने कार्यालयल जनाएको छ ।


Back_to_top