अब पालो नेपालमै कार एसेम्बल गर्ने

काठमाडौं । नेपालले करिब ६० वर्षदेखि सबै किसिमका सवारीसाधन आयात गरेर बिक्री गर्दै आएको छ । पूर्ण तयारी सवारीसाधन आयात गर्ने भएको कारण नेपालमा त्यससँग जोडिएका इन्सीलरी उद्योग स्थापनामा कसैले चासो देखाएनन् ।

गाडी बिक्रेताले इन्सीलरी उद्योग नलगाउनुमा मुख्यतया गाडी बिक्रीको संख्या न्यून हुनु, समान पार्टस् धेरै मोडलमा नलाग्नु, आफ्नो आधिकारीक बिक्रेताको ग्यारेन्टी नहुँनु जस्ता कारण मुख्य मानिन्छन् ।

नेपालमा अझैं नियमित वार्षिक १० हजार यूनिट कार बिक्री हुने अवस्था आएको छैन । त्यस हिसावले नेपालमा अहिलेसम्मकै चर्चित कार मोडल मुस्किलले १० हजार यूनिट मात्रै बिक्री भएको अवस्था छ । यस्तोमा इन्सीलरी उद्योगको परिकल्पना नै ब्यवसायीक रुपले घातक हुने देखिन्थ्यो । त्यसकै परिणाम हाम्रो भएको गोरखकाली टायर उद्योगसमेत चल्न सकेन ।

समय क्रमसँगै मोटरसाइकलमा सम्भावनाहरु बढ्दै गए । वार्षिक १ लाख ५० हजारदेखि ३ लाख यूनिटसम्म मोटरसाइकल तथा स्कुटर नियमीत बिक्री हुन थालेका छन् । त्यसमा पनि बजाज, होन्डा, टीभीएस र यामाहा जस्ता ब्राण्डले आफ्ना केही मोडल १५ हजार यूनिट माथि बिक्री गर्छन् । त्यसले नेपालमा मोटरसाइकलको एसेम्बलीङ भित्र्याएको हो ।

अहिले नेपालमा एसेम्बल गर्ने कम्पनीको संख्या ५ पुगेको छ । बजाज, टीभीएस, यामाहा, रोयल इनफिल्ड र बेनेलीले नेपालमै मोटरसाइकल एसेम्बलीङ गर्दै आएका छन् । हिरो, सुजुकी, होन्डा लगायतका ब्राण्डको एसेम्बलीङ यूनिट तयार पार्दै छन् । यसले समग्र दुई पाङ्ग्रे सवारीसाधनको एसेम्बलीङ हुँदै इन्सीलरी उद्योग स्थापनाको बाटो खुल्ला भएको मान्न सकिन्छ ।

अब कारको पालो

मोटरसाइकलमा एसेम्बलीङको सुरुवातले कारको एसेम्बलीङको सम्भावना बढाएको छ । त्यसैले त नेपालमै कार एसेम्बल गर्न मारुती सुजुकी, हुन्डाई र महिन्द्रा जस्ता कम्पनीले चासो देखाएका छन् । यी कम्पनीको आधिकारीक बिक्रेताहरुले उत्पादकसँग त्यसको लागि सहमती समेत लिइसकेका छन् ।

अहिले यी तीनवटै कम्पनीले एसेम्बलीङ प्लान्ट स्थापनाको लागि काम गरिरहेका छन् । सिजी होल्डीङले बाराको परवानीपुरमा प्लान्ट स्थापना गर्न आवश्यक जमिनको ब्यवस्था गरेको छ । महिन्द्रा र हुन्डाईले नवलपरासीको रामग्राममा प्लान्ट स्थापना गर्न आवश्यक जमिन खरिद गरेका छन् ।

नेपालमा चल्तीका ब्राण्डले नै एसेम्बलीङको लागि तदारुकता देखाएपछि अन्य ब्राण्डले पनि थप संभावना खोज्ने देखिन्छ । त्यसको लागि ब्यवसायीको एउटै सर्त सुन्ने गरिन्छ । सरकारले नीतिगत स्थीरता गर्नु पर्छ । लगानी गर्न ब्यवसायीहरु तयार छन् ।

धेरै गाडी बिक्री गर्ने मध्यको टाटा, किया, एमजी जस्ता ब्राण्डले पनि निकट भविष्यमा नै एसेम्बल उद्योगको बारेमा थप छलफल र चर्चा गर्ने देखिन्छ । यसले नेपाल अब कार एसेम्बलको यूगमा प्रवेश गर्ने अनुमान लगाउन कठिन पर्दैन ।


Back_to_top