काठमाडौं । चाबहिल सडक निर्माणका लागि आफ्नो क्षमता सकिएको सडक विभागले बताएको छ । सडक विभागका महानिर्देशक केशव कुमार शर्माले चाबहिल चोकको बाटो सडक विभागको क्षमता बाहिर रहेको बताएका हुन् ।
मेलम्चीले पाइप राख्ने क्रममा चाबहिलका ढलहरु फुटाएको भन्दै त्यो काम मेलम्चीले हेर्नुपर्ने तर्क गर्छन् महानिर्देशक शर्मा ।
‘मेलम्चीले पाइप लगाउने क्रममा पुरै ढल फुटेको छ, त्यसमा हाम्रो क्षमता सकियो, मेलम्चीले गर्नु पर्छ,’ शर्माले मेरोअटोसँग भने ।
यस्तै काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना कार्यालय निर्देशनालयका आयोजना प्रमुख चिरेशप्रसाद खड्की भने मेलम्चीको पाइप चाबहिलमा २ वर्ष अगाडीने जडान गरेको बताउँछन् ।
उनले २ वर्ष अगाडी जडान गरेको पाइप हाल्दा ढल फुटेको भए त्यती बेलानै समस्या हुनुपर्नेमा अहिले कसरी हुन्छ खड्कीले प्रश्न गरे ।
‘हामीले २ वर्ष अगाडी लगाएको पाइप अहिले ढल फुट्यो भनेर भन्दा कसरी मान्नु,’ खड्कीले मेरोअटोसँग भने ।
उनले मेलम्चीकै कारण ढल फुटेको भए आइतबार नै निरिक्षणका लागि टोली पठाउने बताए ।
उपत्यका भित्रको मेलम्चीको काम, ट्यांकी बनाउने, भल्ब बनाउने लगायतका काम काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना कार्यालय निर्देशनालयले हेर्दै आएको छ ।
पाइप विछ्याउदा खनेको सडकहरु संघिय सडक सुपरिव्यक्षण कार्यालयले अनुगमन गर्ने गरी बजेट छुट्याइएको मेलम्ची खानेपानीले जानकारी दिएको छ ।
यस्तै हाल बौद्ध सडक निर्माणमा समेत ढल फुटेका कारण समस्या उत्पन्न भएको सडक विभागले जानकारी दिएको छ ।


