चेरीको अफरोड इलेक्ट्रीक एसयूभी, रेन्ज ५०० किलोमिटर

काठमाडौं । चिनियाँ सरकारी लगानीको अटोमोबाइल ब्राण्ड चेरी मोटर्सले ग्वान्झाओ अटो शोमा नयाँ सहायक ब्राण्ड ‘आईकार’ घोषणा गरेको छ । कम्पनीले नयाँ ब्राण्डसँगै इलेक्ट्रीक अफरोड एसयूभी पनि ल्याउने घोषणा गरेको हो ।

कम्पनीका अनुसार पहिलो मोडलको नाम आईकार-०३ हुनेछ । यसमा शोलार रुफ दिइएको छ । शोलारबाट हुने चार्जले वार्षिक २ हजार किलोमिटरसम्म रेन्ज दिनेछ ।

चेरीले २५ देखि ३५ वर्षसम्मका युवाहरुलाई लक्षित गरेर आईकार-०३ अफरोड ईभी ल्याउन लागेको हो । निकै बक्सी डिजाइनमा उपलब्ध हुने यो एसयूभी फोर ह्वील ड्राइभ सिस्टमको साथ आउने छ ।

यसको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम, उचाई १७१५ एमएम र ह्वीलवेस २७१५ एमएम हुनेछ । यसमा १८ वा १९ इन्चको ह्वील दिइने छ । अफरोड आईकार ०३ को अप्रोच एङ्गल २६ डिग्री र डिपार्चर एङ्गल २९ डिग्री रहेको छ ।

अफरोड एसयूभी भएकाले यसको रियर डोर साइडमा खुल्ने र स्पेयर टायर ह्याङ भएको छ । यसमा वायरलेस मोवाइल चार्जिङ, १२ वटा स्पीकर सहितको इन्फिनीटी म्युजिक सिस्टम, १५.४ इन्चको सेन्टर कन्ट्रोल स्कृन दिइएको छ । साथै, सुरक्षाको लागि एबीएस, ईबीडी, इएसपी पाउन सकिन्छ ।

एसयूभीमा स्नो, मड, स्याण्ड र ग्राभेल जस्ता ड्राइभ मोड रहने छन् । कम्पनीले यसमा १३५ किलोवाट र ७० किलोवाटको ड्यूल मोटर सेटअप दिएको छ ।

सीएटीएलको ६९ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्रयोग हुने उक्त अफरोड एसयूभीले सिंगल चार्जमा ५०० किलोमिटरको रेन्ज दिने बताइन्छ ।


Back_to_top