काठमाडौं । चीनको उद्योग मन्त्रालयले विभिन्न अटोमोवाइल ब्राण्डहरुलाई ‘एड्भान्स अटोनोमस ड्राइभिङ टेक्नोलोजीको ‘पब्लिक रोड’मा परीक्षण गर्ने अनुमति दिएको छ । योसँगै अब कम्पनीहरुले सेल्फ ड्राइभिङ कारको विकासमा तिब्रता दिने भएका हुन् ।
लेभल ३ अटोनोमस ड्राइभिङ टेक्नोलोजीमा हुने नयाँ प्रविधिको परीक्षणको लागि निजी क्षेत्रका बीवाइडी र नियो ब्राण्ड रहेका छन् । नियो चीनमा सेल्फ ड्राइभिङ टेक्नोलोजीको लिडर कम्पनी हो ।
यी दुई कम्पनीको अलावा सरकारी लगानी रहेका चांगान अटोमोवाइल, जीएसी, एसएआइसी जस्ता कम्पनीहरुले पनि लेभल ३ अटोनोमश टेक्नोलोलीको परीक्षण गर्ने अनुमति पाएका हुन् । साथै, केही राइड शेयरिङ कम्पनीहरुले पनि अनुमति लिएका छन् ।
अहिले अटोमोवाइल कम्पनीहरु लेबल ५ सम्मको अटोनोमस ड्राइभ टेक्नोलोजीमा पुग्ने लक्ष्यसहित काम गरिरहेका छन् । लेभल १ अटोनोमसमा सामान्य ड्राइभर असिस्ट, सिस्टम क्रुज कन्ट्रोल जस्ता कुरा पर्छ । पाँचौ लेभलमा पुग्दा फुल्ली सेल्फ ड्राइभिङ कार तयार हुनेछ ।
चीन सरकारले गत नोभेम्बरमा ‘फुल्ली अटोनोमस ड्राइभिङ भेहिकल टेस्ट’ गर्न चाहने कम्पनीहरुबाट आवेदन लिएको थियो । अहिले स्वीकृति लिएका कम्पनीले परीक्षणको क्रममा स्टेरिङबाट हात हटाएर परिक्षण गर्न सक्नेछन् । तर, कुनै दुर्घटना भएमा सम्पूर्ण जिम्मेवारी उनिहरुकै हुनेछ ।
अहिले हुवावे, एक्सपेङसहित १० भन्दा बढि अटोमोवाइल ब्राण्डले अहिले प्रयोगमा ल्याएका लेभल २ अटोनोमस प्रविधिमा चालकको हात स्टेरिङमा हुनै पर्ने हुन्छ ।
अमेरिकी ईभी कम्पनी टेस्लाले पनि चिनियाँ प्रयोगकर्ताका लागि ‘फुल्ली सेल्फ ड्राइभिङ सफ्टवेयर’ अर्को वर्षसम्ममा लन्च गर्ने घोषणा गरिसकेको छ ।