नाकामा रोकिएका एक हजार ५०० विद्युतीय गाडी नेपाल प्रबेश गर्दै

काठमाडौं । रसुवागढी र तातोपानी नाका एक साथ खुल्ला भएको छ । असोज ११ र १२ गतेको वर्षापछि अवरुद्ध बनेका चीन जोड्ने चल्तीका दुबै नाका संचालनमा आएको हो ।

आज मंगलबारदेखि रसुवागढी नाका हुँदै मालबहाक साधन प्रबेश गरेसँगै दुबै नाका संचालनमा आएको हो । यसअघि नै शुक्रबारबाट तातोपानी नाका संचालनमा आएको थियो ।

दशैंको मुखमै नाका अबरुद्ध हुँदा रोकिएका १५०० यूनिट विद्युतीय गाडी अब आउने भएका छन् । रसुवागढी नाकामा सबैभन्दा धेरै गाडी बीवाइडीको रोकिएको छ । आधिकारिक बिक्रेता साइमेक्स इंकका अनुसार केरुङतर्फ एटो–थ्री र डल्फिन गरेर ४०० युनिटभन्दा बढी गाडी रोकिएका छन् । अब यी गाडी नेपाल प्रबेश गर्नेछन् ।

रसुवागढी नाकाबाटै गाडी ल्याइरहेको सीजी मोटर्सको विभिन्न ब्राण्डका २०३ युनिट गाडी रोकिएको थियो । कम्पनीले अवतार, एक्सपेङ, नेटा एक्स, केवाइसी र किङलङका गाडी ल्याइरहेको छ ।

त्यस्तै, जीओ अटोमोवाइल र लक्ष्मी इमोविलिटीले ल्याइरहेको केई एक्सथ्री प्रो मोडलको गाडी पनि रोकिएको थियो ।

तातोपानी नाकातर्फ सबैभन्दा धेरै गाडी एसपीजी अटोमोबाइलको रोकिएको छ । कम्पनीले नेपाल ल्याएर बिक्री गर्दै आएको ओमोडा÷जेको ब्राण्डका गाडी रोकिएका हुन् । ओमोडा ई-५ अहिले चीनतर्फ १५० युनिट र जेको जे-६ पनि १३६ युनिट रोकिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, लिप मोटर्सको सी-१० पनि १०० युनिट नेपाल आइरहेको थियो । नामी कार पनि २०० यूनिटभन्दा धेरै चीनतर्फ रोकिएका थिए । यी सबै कार अब नेपाल आउने छन् ।


Back_to_top