काठमाडौं । हुन्डाई क्रेटा नेपालमा सर्वाधिक सफल कम्प्याक्ट एसयूभी हो । सन् २०१६ देखि निरन्तर नेपाली बजारमा उपलब्ध क्रेटा १० हजार युनिट माथि बिक्री भइसकेको छ ।
अहिलेसम्म यसको दुई जेनेरेशन र दुई फेसलिफ्ट मोडल बजारमा आए । यी सबै मोडलले सफलताको स्वाद चाखे । केही महिना अगाडि नेपाल आएको क्रेटा फेसलिफ्टले लगभग ठप्प रहेको पेट्रोल कारको बजारमा नयाँ सन्देश प्रवाह गर्न सफल भयो ।
विद्युतीय कारले पूर्णत ‘डोमिनेट’ गरेको बजारमा क्रेटा फेसलिफ्टले निकै राम्रो बिक्री पायो । दशैं अगाडि बजारमा आएको नयाँ क्रेटा करिब ३६० युनिटभन्दा धेरै आयात भइसकेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दिँदै आएको सर्भिस, पार्टस्मा चुस्तता र बजारमा पाइने रिसेल भ्यालूको कारण क्रेटाले राम्रो व्यापार गर्न सफल भएको धेरैको बुझाइ छ । कोहीले त यसको ब्राण्ड भ्यालू र हुन्डाईको कारमा पाइने फिनिसिङलाई पनि सफलताको राज मान्छन् ।
यी सबैका बीच हामीले क्रेटाको सफलतासँग जोडिएका केही फिचरको बारेमा यहाँ चर्चा गर्दैछौं ।
गज्जबको रोड प्रजेन्स
क्रेटाको बाहिरी लुक्स निकै बल्की छ । १७ इन्चको ह्वील, अगाडि आक्रमक, ग्रिल, एलईडी लाइट बारको संयोजनसहितको डे टाइम रनिङ लाइट, नयाँ डिजाइनको हेडल्याम्प हाउजिङ, पृथक र मस्कुलर फ्रन्ट बम्बरले यसको अगाडिको लुक्सलाई निकै बलियो बनाएको छ ।
पछाडि पनि कनेक्ट लाइटबार सहितको टेल ल्याम्प, बीचमा दिइएको हुन्डाईको लोगो, ठूलो स्किड प्लेटसहितको पछाडिको बम्पर, हाइ माउन्ट ब्रेकलाइट र सार्कफिन एन्टिनाको कम्बिनेसन उत्कृष्ट लाग्छ ।
पावरफुल र किफायती इन्जिन
भारतमा तीन इन्जिन अप्सनमा उपलब्ध क्रेटा फेसलिफ्ट नेपालमा भने १.५ लिटर पेट्रोल इन्जिनमा मात्रै उपलब्ध छ । यसको इन्जिनले ११५ पीएस पावर प्रदान गर्छ ।
हुन्डाईको यो इन्जिनले लामो समयदेखि आफूलाई अब्बल प्रमाणित गर्दै आएको छ । साथै, यसमा ६ स्पीड म्यानुयलदेखि टप भेरियन्टमा ७ स्पीड सीभीटी गियरबक्स पाउन सकिन्छ । औषतमा यसको माइलेज राम्रो रहेको कारण यसलाई किफायती कार मान्न सकिन्छ ।
प्रिमियम र हाइटेक क्याबिन
क्रेटाको सबैभन्दा बलियो पक्ष यसको क्याबिन हो । कम्पनीले सुरूदेखि नै यसको सिटहरू निकै मोर्डन प्रयोग गरेको थियो । फेसलिफ्टमा आइपुग्दा त्यसमा थप परिवर्तन गरेको छ । यसको ड्यासबोर्ड ड्यूल कलरमा छ भने इन्फोटेन्टमेन्ट सिस्टम र इन्ट्रुमेन्ट क्लष्टरको लागि १०.२५ इन्चका दुई स्कीन जोडेर दिइएको छ ।
मल्टी स्पोक स्टेरिङ ह्वील, ठूलो पानारोमिक सनरुफ, एथेष्ट स्टोरेज, ठूलो बुट स्पेश भएको कारण धेरै यात्रा गर्नेहरूको लागि यसले अलग आनन्द प्रदान गर्न सक्छ ।
सहज ह्याण्डलिङ
ड्राइभिङको क्रममा निकै ठूलो लाग्ने क्रेटा मोर्डन डिजाइनमा तयार भएको छ । यसको टप स्पेकमा सबै किसिमका इलेक्ट्रोनिक्स फिचरहरू पाउन सकिन्छ । चार तरिकाले मिलाउन मिल्ने स्टेरिङ ह्वील, अग्लो स्थानमा बसेर चलाउन मिल्ने सिटसँगै आरमदायी सिटहरू भएको कारण यसलाई जति समय चाए पनि थकाईको महसुस हुँदैन ।
हुन्डाईको रिलायबल इन्जिन र स्मुद गियरबक्सको कारण चालकले विना झन्झट यसलाई चलाउन पाउने छन् । उच्च ग्राउन्ड क्लियरेन्स भएकोले नेपालका बिग्रे भत्केका बाटामा पनि यसलाई सहजै चलाउन सकिन्छ ।
सुरक्षा फिचरको लामो लिष्ट
हुन्डाईले फेसलिफ्ट क्रेटा २०२४ मा आइपुग्दा सुरक्षा फिचरको लामो लिष्ट दिएको छ । कोरियन निर्माताले पहिलो पटक यसमा एडास फिचर दिएको छ भने सबै भेरियन्टमा ६ वटा एयरब्याग दिएको छ ।