काठमाडौं । चीन सरकारले आफ्ना मुख्य ठूला कार निर्मातालाई वाणिज्य मन्त्रालयमा बोलाएको छ । बजारमा एक किलोमिटर पनि नगुडेको गाडीहरू सेकेण्ड ह्याण्डमा बिक्री हुन थालेसँगै सरकारले गाडी उत्पादकलाई हाजिर हुन भनेको हो ।
यस घटनामा अहिलेसम्म वाणिज्य मन्त्रीले बीवाइडी र डोङफेङ मोटरका प्रतिनिधिलाई मन्त्रालयमा हाजिर हुन भनेका छन् । उक्त मिटिङमा चीनको अटोमोबाइल म्यानुफ्याक्चर एशोसिएशन र डिलर एशोसिएशनका प्रतिनिधिलाई समेत बोलाइएको थियो ।
हिजो साँझ गरिएको बैठकमा के के कुरा भयो भन्ने अहिलेसम्म बाहिर आएको छैन । तर, उक्त बैठक चिनियाँ उत्पादकहरूले कसलाई कार बेचिरहेका छन् भन्ने विषयमा केन्द्रीत थियो ।
गतहप्ता मात्रै ग्रेटवाल मोटर्सका चेयरम्यान वी जियानजुनले सिना फाइनान्समा दिएको एक अन्तर्वार्तामा सेकण्ड ह्याण्ड कार बजारमा जिरो माइल गुडेका कार बिक्रीमा राखेको बारे खुलासा गरेका थिए । उनले यसलाई निकै ठूलो चिन्ता बताएका छन् ।
अहिले चिनियाँ सेकेण्ड ह्याण्ड कार बिक्री गर्ने प्लेटफर्ममा ३ देखि ४ हजार जिरो माइल सेकेण्ड ह्याण्ड कार बिक्रीमा रहेको बताइएको छ । चीनमा बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीहरूले फेक बिक्री देखाएको अनुमान गरिएको छ ।


