काठमाडौं । आज संसदको विकास समितिमा भएको कार्यक्रममा यातायात क्षेत्रका व्यवसायीले आफ्नो व्यवसाय संकटमा परेको बताए । कोभिड १९ का कारण सार्वजनिक यातायात क्षेत्र पिडित भएको र व्यवसायको साँवा र व्याजको लागि बैंकहरुले कुनै छुट नदिएको गुनासो गरे ।
व्यवसायीहरुले राज्य विहिन, सरकार विहिन जस्तो अवस्था सृजना भएको भन्दै यातायात क्षेत्रका समस्या सम्बोधन गर्न माग गरेका छन् ।
मजदुर र व्यवसायीहरुले कोभिड १९ का कारण बैंकमा ऋणको व्याज तिर्न नसकेको र गाडीको टायरसमेत बिग्रिसकेको, ब्याट्री डाउन भएको र सार्वजनिक यातायात चल्नै नसक्ने अवस्थामा पुगेको गुनासो गरेका छन् ।
व्यवसायीहरुले लकडाउनको समयमा भोग्नु परेको क्षतीपूर्तिको माग गरेका छन् । यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिपक केसीले ट्याक्सी चलाउन दिनुपर्ने भनेर मोडालिटी बनाई यातायात व्यवस्थापन विभागमा बुझाए पनि त्यसमा सरकारले चासो नदेखाएको उनको भनाई छ ।
उनले चालकले आवश्यकता अनुसार विरामीहरुलाई अस्पताल लैजानु पर्ने भएकाले ट्याक्सी चालकको समेत कोभिड १९ बीमा गराइनु पर्ने माग गरे ।
यस्तै उनले उपत्यकामा लाखौँ गाडी भएको तर व्यवस्थित बस पार्क नभएकाले त्यसले पनि कोरोनाको संक्रमण बढाउने बताउँदै त्यस तर्फ ध्यानकर्षण गराए । ‘काठमाडौंमा नयाँ बसपार्क बाहेक कुनै व्यवस्थित छैनन्, बसपार्क व्यवस्थित गरे कोरोना संक्रमण रोक्न सकिन्छ, हामीलाई मापदण्ड बनाएर दिनु हामी त्यही अनुसार सवारी सञ्चालन गर्ने छौँ,’ केसीले भने ।
६० प्रतिशत भन्दा बढि ट्याक्सी ड्राइभरहरुले आफ्नो गाडी अथवा जग्गा धितो राखेर गाडी किनेको हुनाले उनीहरुको घर, जमिन र आयश्रोतको गाडी नै बैंकले तान्ने अवस्था आएको उनले बताए ।
यस्तै नेपाल यातायात व्यवसायी महासंघका भिमज्वाला राईले यातायात क्षेत्रमा १० खर्बको हाराहारीमा नीजि क्षेत्रको लगानी रहेको भन्दै ४५ लाख मानिसको जीवन सार्वजनिक यातायात क्षेत्रमा आर्शित रहेको उनले बताए । १ सय ७ दिन लकडाउन भइसकेको र अझै बढ्ने क्रममा रहेको हुँदा सार्वजनिक यातायात व्यवसायमा रहेका मजदुर तथा व्यवसायीहरुको घरमा चुल्हो बल्न नसक्ने अवस्था सृजना हुन थालेको बताए ।
राईले भने ‘अब कोरोनाले भन्दाले भोकले मरिन्छ कि भन्ने डर भएको छ ।’ सरकारले यातायात मजदुर तथा व्यवसायीहरुका लागि केही सिन्को भाच्ने काम नगरेको बताए ।
सरकारले यातायात श्रमिकका लागि राहत प्याकेजको समेत कुनै व्यवस्था नगरेको भन्दै उनले ७७ जिल्लाका यातायात श्रमिक राहत प्याकेजबाट बन्चित रहेको बताए ।
‘मन्त्रालयले यातायात क्षेत्रलाई गम्भिरता पूर्वाक लिएन, निजीलाई जति मानिस हालेर पनि गुडाउन पाउने, श्रमिकले रोजिरोटीको लागि समेत गाडी गुडाउन नपाउने,’ राईले भने ।
यस्तै नेपाल विद्युत परिवहन संघका राज श्रेष्ठले सफा ट्याक्पु गुडाउन नपाउँदा त्यसका ब्याट्रिहरु बिग्रीने क्रममा रहेको भन्दै ट्याम्पु गुडाउन वातावरण मिलाउन अनुरोध गरे ।
उनले ८ जनाको ठाउँमा ६ जना राखेर मात्र भए पनि ट्याक्पु गुडाउने व्यवस्था मिलाइदिन समितिमा माग गरेका छन् । धेरैको व्यवसाय खोसिएको भन्दै उनले १ लाख यात्रुलाई सेवा दिदै आएको भन्दै मापदण्ड ल्याए त्यसै अनुसार ट्याम्पु गुडाउने बताए ।


