स्थानीय तहदेखि नै अटो व्यवसाय बलियो बनाउन मेरो उम्मेदवारीः ध्रुव थापाको अन्तर्वार्ता

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आगामी भदौ अन्तिमसाता आफ्नो चुनावी साधारण सभा गर्ने भएसँगै निर्वाचनको कार्यक्रममा अटोमोबाइल व्यवसायीहरू जुटेका छन् । नेपालको राजश्व र रोजगारीको क्षेत्रमा महत्वपूर्ण योगदान रहेको अटोमोबाइल व्यवसायीको साझा संस्था भएकाले यसमा धेरै व्यवसायिक घरानाको चासो बढ्दै गएको छ । आगामी साधारण सभामा नाडाका पूर्वउपाध्यक्ष तथा वर्तमान कार्यसमितिमा इलेक्ट्रीक भेहिकल कमिटिका सभापति ध्रुव थापा र वर्तमान कार्यसमितिका उपाध्यक्ष करण चौधरी अध्यक्ष पदमा चुनावा लड्ने तयारी गरिरहेका छन् । यसै सन्दर्भमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका थापासँग मेरोअटोले गरेको कुराकानीको सम्पादित अंश

तपाईंको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी स्वभाविक हो । लामो समयदेखि मोफसलमा रहेर मैले अटोमोबाइल व्यवसाय गर्दै आएको छु । अहिले देश संघीय संरचनामा गएको छ । त्यो संरचना अनुसार नाडाको पनि प्रदेश कमिटिहरू बनेका छन् । तर, उहाँहरूको पहुँचमा केन्द्रमा आफ्नो समस्या उठान गर्ने सक्ने अवस्था छैन । म विगत लामो समयदेखि मोफसल केन्द्र बनाएर व्यवसाय गर्दै आएको छु । सवारीसाधनको व्यवसाय कसरी गर्ने गराउने भन्ने विषयको नीति निर्माण केन्द्रभन्दा प्रदेश र स्थानीय सरकारले बढी गर्न थालिसकेका छन् । त्यस्तोमा केन्द्रदेखि स्थानीय तहसम्म संयोजनकारी भूमिका निर्वाह गर्दै अगाडि जान पनि मेरो नेतृत्वलाई सहज हुने मैले देखेको छु ।

यति भनिरहँदा म चाहिँ यसअघि भएका काममा दोषी छैन भन्न खोजेको होइन । कार्यसमिति र पदाधिकारी भएर बस्दा त्यतिबेला भएका कमजोरीको भागिदार म पनि हुँ ।

स्थानीय तहमा लाग्ने कर, बैंकको ब्याज, व्यवसायको लागत बढ्ने अवस्था, कामदार लगायतका समस्या अहिले स्थानीय स्तरमा देखिएका छन् । अर्को विषय प्रदेश अनुसार सवारीसाधनमा लगाइएको कर पनि अटोमोबाइल व्यावसाय र पूर्ण राज्यको लागि नै चुनौती बन्दै जाने देख्दैछु । यी सबै विषयमा मेरो आफ्नै अनुभव, भोगाइ र सिकाइ छ । नाडामा पनि म उपाध्यक्ष यसअघि नै भइसकेको हुनाले सबै साथीहरूलाई मिलाएर अगाडि बढ्न सक्ने विश्वासको साथ मैले उम्मेदवारी घोषणा गरेको हुँ ।

पश्चिमाञ्चल डिलर एशोसिएसनमा १४ वर्ष बिताएको छु । त्यहाँ अध्यक्षको कार्यकाल सकिएपछि म केन्द्रको नाडासँग जोडिएको हुँ ।

अहिले पनि नाडाको कार्यसमितिमा हुनुहुन्छ । व्यवसायिक हक हितमा नीति निर्मातासँग लबिङ गर्न नाडा कत्तिको सफल छ जस्तो लाग्छ ?

विगतमा नाडाले आफ्ना कुरा सरोकारवाला निकायमा कडासँग राख्थ्यो र त्यो सुनुवाइ पनि हुँदै आएको थियो । पछिल्ला कार्यकालमा केही गुटगत प्रवृत्ति मौलाउँदै गएको देखिन्छ । त्यो बढ्दो प्रवृत्तिलाई रोक्न पनि मैले उम्मेदवारी दिने निर्णय गरेको हो । नाडाले अनावश्यक विषयमा ‘एटेन्सन’ तान्ने नियतले मात्रै काम गर्न थाल्यौ कि भन्ने चिन्ता धेरै व्यवसायीमा भएको मैले पाएको छु । भदौ अन्तिममा साधारण सभा गर्ने विषय बाहिर आएसँगै मैले सबै पूर्वअध्यक्षदेखि व्यवसायीसँग भेटघाट गरेको छु । उहाँको चिन्ता पनि व्यवसायीको हितामा नाडा केन्द्रीत भएन भन्ने छ ।

यति भनिरहँदा म चाहिँ यसअघि भएका काममा दोषी छैन भन्न खोजेको होइन । कार्यसमिति र पदाधिकारी भएर बस्दा त्यतिबेला भएका कमजोरीको भागिदार म पनि हुँ । त्यसैले विगतबाट शिक्षा लिएर वर्तमानमा थप काम गर्ने योजना मैले निर्माण गरेको छु ।

प्रदेश, स्थानीय तह र केन्द्रमा रहेका व्यवसायी र सरकार बीच तालमेल कसरी मिलाउनु हुन्छ ?

हाम्रो व्यवसायको मोडल भनेकै स्थानीयबाट केन्द्रमा हो । तर, नाडा केन्द्रबाट स्थानीयको ट्रेन्डमा छ । यसमा सुधार गर्नु पर्छ । त्यो मैले एक्लै गर्न सक्ने र गर्ने विषय होइन, त्यसको लागि सबै व्यापारी साथीहरूको सहयोग र सक्रिय सहभागिता चाहिन्छ । हाम्रा कति व्यापारी साथीहरू राम्रोसँग हिसाब राख्न नसकेर जरिवाना तिरिरहेका छन् भने कति स्थानीय तहका सरकारले मनोमानी तरिकाले कर निर्धारण गर्दा व्यवसाय नै अन्यत्र सार्नुपर्ने अवस्थामा छन् ।

यदि तयारी साधन ल्याएर बेच्दाभन्दा यहाँ एसेम्बल गर्दा महंगो पर्छ भने त्यसमा कसले लगानी गर्छ । लगानी त प्रतिफल देखेपछि गर्ने हो नि । प्रतिफल आउन सक्ने आधार सरकारले तयार गर्नु पर्छ ।

केन्द्रमा धेरै डिष्ट्रिब्यूटर छन् । तर, प्रदेश स्तरमा रहेका डिष्ट्रिब्यूटरका आफ्नै किसिमका समस्या छन् । ती समस्याको निराकरण गर्न नाडाको प्रदेश कमिटि बलियो हुनुपर्छ । पहिला त त्यो पनि थिएन । वर्तमान अध्यक्ष ज्यूले सबै प्रदेशमा नाडा पुर्याउनु भएको छ, त्यसको लागि उहाँलाई धन्यवाद दिनुपर्छ । अब प्रदेशका साथीहरूलाई यहाँ ल्याएर नाडाको पदेन सदस्य बनाउँदैमा समस्या समाधान हुँदैन, त्यही काम हुनुपर्छ । अर्को विषय यो क्षेत्रमा महिलाको सहभागिता सुनिश्ति गर्नु पर्छ । त्यसको लागि हामीले धेरै काम गर्नुपर्ने देखेको छु ।

तपाईं आफैँले विद्युतीय बस नेपालमा नै एसेम्बल गर्छु भन्नु भएको थियो । अहिले अन्य कम्पनीहरू पनि नेपालमा साना प्यासेन्जर गाडी एसेम्बल गर्न खोजिरहेका छन् । नाडाबाट तपाईं कस्तो पहल गर्नुहुन्छ ?

दुई पाङ्ग्रे सवारी साधान एसेम्बल सुरु भएको छ । त्यसको तुलनामा ठूला सवारी साधन एसेम्बल यूनिट स्थापना गर्न ठूलो लगानी चाहिन्छ । यदि तयारी साधन ल्याएर बेच्दाभन्दा यहाँ एसेम्बल गर्दा महंगो पर्छ भने त्यसमा कसले लगानी गर्छ । लगानी त प्रतिफल देखेपछि गर्ने हो नि । प्रतिफल आउन सक्ने आधार सरकारले तयार गर्नु पर्छ । अहिले उद्योगको लागि आवश्यक जमिन किन्नै नसकिने अवस्था छ । हरेक प्रदेशमा ठूला औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढेको छ । त्यहाँ न्यूनतम भाडा तोकेर जमिन दिने हो भने त्यसले लगानी कम हुन्छ । सडक, बिजुली, पानी जस्ता उद्योगको लागि चाहिने आवश्यक पूर्वाधारमा व्यवसायीले लगानी गर्नु नपर्ने वातावरण बनाउनु पर्छ ।

निश्चित वर्ष नै तोकेर अन्तःशुल्क, भन्सार जस्ता करमा छुट दिने र केही वर्ष आयकरमा पनि निश्चित प्रतिशत छुट दिने हो भने उद्योग लाग्छ । यस्ता थुप्रै विषयमा योजना बनाएरै सरकारसँग लबिङ गर्ने सोच मैले बनाएको छु ।

अटोमोबाइल व्यवसायको विविधीकरण भइरहेको छ । व्यापार र व्यवसायको नेचर परिवर्तनसँगै नयाँ चुनौती पनि आइरहेका छन् । अध्ययन र अनुसन्धान गर्न विज्ञहरूको टिम निर्माण गरेर काम गर्ने मैले सोचेको छु ।

 


Back_to_top