काठमाडौं । विद्युतीय कारको आयात र प्रयोग बढेसँगै कार मोडलमा पनि तीव्र प्रतिस्पर्धा सुरू भएको छ । बजारमा चल्तीका तीन साना ईभीको कुरा गर्दा मूल्यले निकै ठूलो फरक पारेको सहजै अनुमान गर्न सकिन्छ ।
डोङफेङ नामी बक्स, बीवाइडी डल्फिन र टाटा पन्च ईभी मूल्य, फिचर र लग्जरीका हिसाबले पनि प्रतिस्पर्धी हुन् । यी तीन प्रतिस्पर्धीमा डोङफेङ नामी बक्स ईभी निकै अगाडि देखिएको छ ।
यहाँ उल्लेख गरिएका तीन ईभी मोडल मध्ये नेपाली बजारको लागि सबैभन्दा पुरानो मोडल बीवाइडी डल्फिन हो । डल्फिनको बिक्री २ हजार ५०० हाराहारी भइसकेको छ । सन् २०२५ को १, जनवरीदेखि १५, मेसम्ममा २८५ युनिट डल्फिन आयात भएको छ ।
जबकि यी तीनमध्ये सबैभन्दा सस्तो मोडल डोङफेङ नामी हो । पछिल्लो साढे चार महिनाको अवधिमा नामीको आयात ५५९ युनिट पुगेको छ । जुन डल्फिन र पन्चभन्दा निकै धेरै हो ।
माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध टाटा पन्च ईभीको आयात सन् २०२५ को साढे चार महिनामा २१७ युनिट छ । यी तीन मध्ये सबैभन्दा सस्तो मोडल नामी हो । त्यस्तै टाटा पन्च बीचको पर्छ भने सबैभन्दा महंगो बीवाइडी डल्फिन हो ।
भेरियन्ट र मूल्य
डोङफेङ नामी सबैभन्दा सस्तो मोडल हो । एमएडब्लू वृद्धिले विभिन्न दुई भेरियन्टमा उपलब्ध गराएको नामीको ई–२ भेरियन्टको ३२ लाख ४९ हजार, ई-३ भेरियन्टको ३४ लाख ७९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।
टाटा पन्चलाई सिप्रदी ट्रेडिङले नेपाली बजारमा तीन भेरियन्टमा ल्याएको छ । पन्चको सानो ब्याट्री भएको इम्पावर्ड प्लस भेरियन्टको मूल्य ३४ लाख ९९ हजार तोकिएको छ । लङ रेन्ज मोडल पन्चको इम्पावर्ड भेरियन्टको ३७ लाख ९९ हजार र टप भेरियन्ट इम्पावर्ड प्लस भेरियन्टको ३९ लाख ९९ हजार तोकिएको छ ।
बीवाइडी डल्फिन भने साइमेक्स इंकले एउटा मात्रै भेरियन्टमा ल्याएको छ । यसको मूल्य ४१ लाख १५ हजार रुपैयाँ रहेको छ ।
कुनमा कत्रो ब्याट्री र मोटर
टाटा पन्च ईभीको मिड रेन्ज (एमआर) मोडलमा २५ किलोवाट र लङ रेन्ज मोडलमा ३५ किलोवाट आवरको ब्याट्री छ । यसमा ४९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।
डोङफेङ नामीमा पनि ४९ किलोवाट क्षमताको मोटर छ । यसमा कम्पनीले ३१ किलोवाट आवर र ४२ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ ।
बीवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्याट्री छ । यसमा ७० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ ।