काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण बुझाएका छन् ।
उनले जिल्ला निर्वाचन कार्यालय चितवनमा चुनावी अभियानका क्रममा आफूले कुल ९ लाख ८९ लाख ९८७ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।
रविले चुनावी अभियानमा सबैभन्दा धेरै खर्च यातायातमा गरेका छन् । उनले बुझाएको विवरण अनुसार १५ दिनमा २ वटा गाडी भाडामा लिँदा (इन्धनसहित) कुल २ लाख ९५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
रविले वरिष्ठ नेता बालेन्द्र शाहकोभन्दा १२०० रुपैयाँ धेरै खर्च गरेका हुन् । बालेनले दुई वटा सवारी साधन १५ दिनका लागि भाडामा लिँदा २ लाख ९३ हजार ८०० रुपैयाँ (इन्धनसहित) खर्च गरेको विवरण बुझाएका थिए ।
त्यस्तै, रविले तीन पटक हवाई जहाज मार्फत यात्रा गर्दा १३ हजार ६२६ रुपैयाँ भाडा तिरेको विवरणमा उल्लेख छ ।
त्यसैगरी, रविले निर्वाचनमा उनले मनोनयन दर्ता गर्दा १० हजार, नमुना मतपत्र छपाई गर्दा ६८ हजार १६१ रुपैयाँ, खाजा तथा मतदाता प्रशिक्षण खर्च २ दिनमा १४ हजार २००, २८ वटा वडामा वडास्तरीय प्रचार प्रसारमा ४६ हजार, प्रचार सामाग्री खरिद (ब्याच, झण्डा) खरिदमा १ लाख १२ हजार, ब्यानर र स्टिकरमा ५५ हजार रुपैयाँ लगायत खर्च भएको उल्लेख गरेका छन् ।


