काठमाडौं । साना विद्युतीय कार नेपाल आउने क्रम बढेको छ । लामो समयदेखि नेपालको विद्युतीय क्षेत्रमा काम गर्दै आएका मानिसहरुले मिलेर नयाँ इलेक्ट्रीक कार नेपाल ल्याएका छन् । चीनमा उत्पादन भएका विद्युतीय कार कस्मिक इलेक्ट्रीकल इन्जिनियरिङ एशोसिएट अन्तर्गतको कस्मिक मोटर्स प्रालिले नेपाल ल्याएको हो ।
कम्पनीले यसलाई ‘इलेक्ट्रा प्लस’ ब्राण्डमा विक्री वितरण गर्ने जनाएको छ । कम्पनी स्रोतका अनुसार सहर केन्द्रित सानो कार निकै किफायती मूल्यमा बजारमा उपलब्ध हुनेछ ।
कम्पनीले नेपाल ल्याएको गाडीमा दिइएका फिचरको विषयमा धेरै कुराको जानकारी उपलब्ध छैन । यद्यपि कम्पनीले सार्वजनिक गरेको तस्विर अनुसार यसमा ठूलो साइजको इन्फोटेन्टमेन्ट सिस्टम, एसी र हिटरको लागि आवश्यक नब, स्टेरिङ माउन्ट अडियो कन्ट्रोल बटम जस्ता फिचर देखाइएको छ ।

कम्पनी स्रोतका अनुसार यो सानो गाडीमा १५ किलोवाट क्षमताको मोटर र १५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म चलाउन सकिने कस्मिक मोटर्सको दावी छ ।
विशेषत सहरी क्षेत्रको लागि नै ध्यानमा राखेर नेपाल ल्याउन लागिको कारण यसमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स रहने कम्पनी स्रोतले जनाएको छ । कम्पनीले गाडी र यसमा रहेको ब्याट्रीमा ४ वर्षको वारेन्टी रहने जानकारी दिएको छ । अबको केही दिन भित्रै यो सानो कार नेपाली बजारमा विक्री वितरण सुरु हुनेछ ।


