यस्ता छन्, २०२० मा बजारमा आउने ८ इलेक्ट्रीक कार

काठमाडौं । सन् २०१९ ले हामीबाट विदा लिने समय भएको छ । यस वर्ष इलेक्ट्रीक सवारीसाधनको विकास र उत्पादनमा निकै ठूलो सफलता मिलेको अटो उत्पादक कम्पनीहरुले जनाएका छन् ।

सन् २०१९ मा फोर्ड, हुन्डाई, हुन्डाई, टाटा, किया, एमजी, बीएमडब्ल्यू, मर्सिडिज, फक्सवागेनलगायतका ब्राण्डले इलेक्ट्रीक कारको विकासमा ठूलो धनराशी खर्च गरेका छन् ।

यस्तो आउने वर्ष २०२० मा नयाँ इलेक्ट्रीक कारको चर्चा अझ बढ्ने निश्चित रहेको छ । त्यसैले हामीले २०२० मा अन्तर्राष्ट्रिय बजारमा आउने केही चर्चित कम्पनीका नयाँ मोडलको विषयमा यहाँ जानकारी दिने प्रयास गरेका छौं ।

१. टेस्ला मोडल वाईः


विद्युतीय सवारी उत्पादक टेस्लाले आफ्नो चर्चित मोडल वाईको बिक्री २०२० बाट सुरु गर्नेछ । यसको मूल्य करिब ६० हजार डलर रहने अनुमान गरिएको छ ।

एक पटकको फुलचार्जमा करिब ३८० देखि ५०० किलोमिटर रेञ्ज प्रदान गर्ने यो मोडल अहिलेदेखि नै निकै चर्चामा रहेको छ ।

२. फक्सवागेन आईडी ३ः


जर्मन कार उत्पादक कम्पनी फक्सवागेनले ल्याउने आई ३ इलेक्ट्रीक मोडल अहिले निकै चर्चामा रहेको छ । यसको आधिकारीक बिक्री २०२० मा सुरु हुने कम्पनीले जनाइ सकेको छ ।

एक पटकको फुलचार्जमा २८० देखि ४०० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने यो कारको अन्तर्राष्ट्रिय बजारमा मूल्य ३० हजार डलर पर्ने अनुमान गरिएको छ ।

३. बीएमडब्ल्यू आईएक्स ३ः

बिएमडब्ल्यू विश्व बजारमा धेरै इलेक्ट्रीक कार बिक्री गर्ने मध्यको एक कम्पनी हो । कम्पनीले २०२० मा नयाँ इलेक्ट्रीक कार आईएक्स ३ सार्वजनिक गर्ने भएको छ । ७० किलोवाट आवरको व्याट्री प्याक दिइने यो कारले एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ ।

४. मसिर्डिज इक्यूसीः


अल ह्वील ड्राइभ अप्सनमा आउने मसिर्डिज इक्यूसी २०२० मा आउने छ । यो एसयूभी निकै पावरफुल हुने जनाइएको छ । ४०२ एचपी पावर रहने यो इलेक्ट्रीक एसयूभीले एकपटकको फुल चार्जमा ३५० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ । यसको मूल्य करिब ८० हजार अमेरिकी डलर पर्ने अनुमान गरिएको छ ।

५. भल्भो पोलस्टर २ः


एक पटकको फुलचार्जमा ५०० किलोमिटर चलाउन सकिने भोल्भोको पोलस्टर २ फुल इलेक्ट्रीक कार सन् २०२० मा बजारमा आउने छ । ४०० हर्सपावर क्षमताको यो कारको मूल्य ६५ हजार डलर पर्ने अनुमान गरिएको छ ।

६. फोर्ड मस्टाङः फोर्डको मस्टाङ इलेक्ट्रीक कारको बिक्री २०२०को सुरुवातसँगै हुने जनाइएको छ । करिब ५०० किलोमिटरको रेञ्ज प्रदान गर्ने यो क्रसओभर एसयूभीको मूल्य ६० हजार डलर पर्ने अनुमान गरिएको छ ।

७. होन्डा अर्वान इभीः


होन्डाले टोकियो मोटर शोमा सार्वजनिक गरेको आफ्नो पहिलो अल इलेक्ट्रीक कार अर्वानको बिक्री २०२० मा सुरु गर्ने जनाएको छ । एक पटकको फुल चार्जमा २४० किलोमिटर रेञ्ज प्रदान गर्ने यो कार रेट्रो डिजाइनमा निर्माण भएको हो ।

८. टाटा नेक्सन इभीः


टाटाले भारतीय बजारमा उत्पादन गरेको आफ्नो पछिल्लो इलेक्ट्रीक एसयूभी नेक्सन २०२० जनवरीबाटै बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले ल्याउने नेक्सन इभीले एकपटकको चार्जमा ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाएको छ । यसको अन्तर्राष्ट्रिय बजारमा करिब १६ हजार डलर मूल्य तोकिने अनुमान गरिएको छ ।  


Back_to_top