काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले विद्युतीय सवारीसाधनमा सरकारले कर छुट दिएपनि उपभोक्ताले त्यसको फाइदा नपाएको हो कि भन्ने कुरा उठाएका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७ औं साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्रीले ब्यवसायीहरुलाई नै प्रश्न गरेका हुन् ।
उनले सरकारले ठूलो मात्रामा राजश्व गुमाएर भएपनि विद्युतीय साधनको प्रयोगलाई बढवा दिदै आएको कारण उपभोक्तालाई त्यसको फाइदा दिनु पर्ने उनको भनाई थियो ।
विद्युतीय साधनले प्रदुषण गर्दैन भन्ने कुरा मात्रै नेपालको लागि ठूलो कुरा नभएको बताउँदै अर्थमन्त्री महतले भने, ‘नेपाल कार्वन उत्सर्जनमा अहिले पनि लगभग सून्यमा नै छ । हामीलाई पूर्ण आयात गर्नु पर्ने पेट्रोलियम पदार्थको आयात र प्रयोग घटाउनु पर्नेछ । त्यसैले आफ्नै विद्युतबाट चल्ने साधनलाई प्राथमिकता दिएका हौं ।’
अर्को एक प्रसंगमा मन्त्री महतले नेपालमै एसेम्बल उद्योग खुल्ने तर त्यसले ‘भ्यालू एड’ गर्न नसक्ने हो भने त्यस्ता कारखानाको फाइदा देशले पाउन नसक्ने बताए । त्यस्ता भ्यालू एड गर्न नसक्ने उद्योगलाई छुट दिएर के फाइदा हुन्छ ? भन्दै ब्यवसायीहरुलाई प्रश्न गरेका थिए ।
अहिले अटोमोवाइल क्षेत्रबाट उठ्ने राजश्व घट्दै गएको छ । तर, राजश्व घट्यो भन्दैमा तत्काल विद्युतीय साधनमा करका दर चलाएर भद्रगोल बनाउने पक्षमा सरकार नरहेको उनले बताए ।
सरकारले आफ्नो प्रतिवद्धता पुरा गर्न कोसिस गरिरहेको भन्दै अर्थमन्त्री महतले नेपालमै केही भ्यालू एड गरेर सवारीसाधन उत्पादन गर्न ब्यवसायीहरुलाई आग्रह गरे ।
नाडाको ४७ औं साधारण सभाबाट करण चौधरीको नेतृत्वमा १७ सदस्यि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।


