बालेनको सहरमा फूटपाथ र सडक अस्तव्यस्त (भिडियो रिपोर्ट)

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका केही फूटपाथ र सडक पछिल्लो समय अस्तव्यस्त बनेका छन् । फूटपाथ अपग्रेड गर्ने महानरको योजना कार्यान्वयनमा ढंग नपुर्याउँदा अस्तव्यस्त भएको हो ।

सडक किनारामा अलपत्र छाडिएका निर्माण सामग्रीले पैदलयात्रुले सबैभन्दा धेरै सास्ती व्यहोर्नुपरेको छ । मुख्य सडकमा यो समस्या कम भए पनि महानगरका भित्री बाटोहरूमा यो समस्या बढ्दो छ ।

काठमाडौंको मुटु बागबजार, मैतिदेवी, डिल्लीबजार, मध्ये बानेश्वर लगायत स्थानमा फूटपाथ भत्काएको धेरै भयो । तर, समयमै निर्माण सम्पन्न नगर्दा पैदल यात्रुले हैरानी व्यहोर्नुपरिरहेको छ । अझ बागबजारमा ढल व्यवस्थापन, डिल्ली बजारमा विद्युत प्राधिकरण तार व्यवस्थापन जस्ता कामले समस्या थपिरहेको छ ।

महानगरले कुनै व्यक्तिले यसरी फूटपाथमा सामग्री राखेमा जरिवाना लगाउँदै आएको छ । अघिल्लो माघ २८ गते सडक पेटी बिगार्दा वडा नम्बर १६ का कृष्ण महर्जनलाई १५ हजार रुपैयाँ जरिवाना गरेको थयो ।

त्यस्तै, २०८० फागुन १६ गते सडक पेटी खेनेर अलपत्र पार्ने वडा नम्बर १६ का दीपककुमार कादमीयनलाई १ लाख जरिवाना तिराएको थियो ।

तर, महानगरले यसरी सडक नै कब्जा गरेर निर्माण सामग्री राख्ने सरकारी निकाय र निर्माण कम्पनीलाई केही भन्न र कारबाही गर्न सकेको छैन ।

करिब १ वर्ष अघि महानगरले पूर्वाधार निर्माण गर्दा ७ वटा नियम पालना गर्नुपर्ने निर्देशन दिएको थियो । जसमा सडकपेटीमा निर्माण सामग्री राख्न नपाउने, सार्वजनिक निकायको काम राती मात्रै गर्नु पर्ने, सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउनु पर्ने निर्देशन दिएको थियो ।

अहिले सडकमा यी सात मध्ये कुनै पनि बुँदाको पालना भएको छैन । यद्यपि, काठमाडौं महानगर मौन देखिन्छ ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपैयाँको लागतमा पैदलमार्ग मर्मत तथा सुधार गर्ने योजना बनाएको थियो । यही योजनाले सडक अस्तव्यस्त भएको हो । अहिलेसम्म यो शीर्षकमा रहेको मध्ये ६१ करोड रुपैयाँ बराबरको काम सकिएको काठमाडौं महानगरका सहप्रवक्ता दीपक अधिकारीले बताए ।

‘विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा मुख्य सडकहरू भत्काएर काठमाडौंका अधिकांश स्थानको सडक अस्तव्यस्त पारेको छ । साथै, हाम्रो आफ्नै फुटपाथ सुधारको काम पनि चलिरहेको छ । त्यसले पैदलयात्रीलाई केही सकस भने परेको छ,’ सहप्रवक्ता अधिकारी भन्छन्।


Back_to_top