काठमाडौं । झण्डै २ वर्षअघि भारतमा आफ्नो उत्पादन प्लान्ट बन्द गरेको फोर्डले फेरी भारत फर्कने सम्भावना बढेको छ । कम्पनीले भारतमा रहेको दुई प्लान्ट मध्ये एक बिक्री गरिसकेको थियो भने अर्को बिक्री सम्झौंता गरेको थियो ।
कम्पनीले आफ्नो चेन्नाई प्लान्ट बिक्री गर्ने डिल रद्द गरेसँगै अमेरिकी अटोमोवाइल ब्राण्ड फोर्ड पुनः भारत आउने हल्ला चलेको थियो । अब भने कम्पनीले आफ्नो सफल एसयूभी इन्डोभरको पेटेन्ट दर्ता गरेको हो । यसका अलावा फोर्डले यसै हप्ता भारतमा रोजगारीका लागि नयाँ ‘भ्याकेन्सी’समेत खुल्ला गरेको छ ।
माथिका यी दुई घटनाले भारतमा फोर्डको पुनः इन्ट्री हुने सम्भावनालाई थप बल पुगेको छ । फोर्डले सन् २०२१ मा भारतको अपरेशन बन्द गर्ने निर्णय गरेको थियो ।
फोर्डले हालै प्याटेन्ट दर्ता गरेको इन्डोभर सन् २०२२ मा ग्लोबल लन्च भएको नयाँ जेनेरेशन एभरेष्टमा आधारित मोडल हो । जुन अहिले नेपालमा एभरेष्टकै नामबाट बिक्री हुँदै आएको छ ।

