काठमाडौं । न्यू इनर्जी भेहिकलको प्रभाव बढ्दै जाँदा विश्व अटोमोबाइलमा ठूलै उथलपुथल हुने अवस्था सृजना भएको छ । अटोमोबाइलको पावर हाउस मानिने जापानका दुई ठूला कार ब्राण्डलाई चिनियाँ दुई कम्पनीले उछिनेका हुन् ।
सन् २०२५ को जनवरीदेखि जुन अन्तिमसम्मको बिक्रीको आधारमा बीवाइडी र जिली अटोमोबाइल ग्रुपले दुई जापानी ब्राण्ड होन्डा र निसानलाई उछिनेको हो ।
चालु वर्षको पहिलो ६ महिनामा बीवाइडीले २१ लाख ४० हजार युनिट कार बिक्री गरेको छ । बीवाइडीले अघिल्लो वर्षपनि होन्डा र निसानलाई उछिनेको थियो । यस पटक अर्को चिनियाँ अटोमोबाइल ग्रुप जिलीलले पनि दुवै जापानी ब्राण्डलाई पछाडि पार्न सफल भएको हो ।
जिलीले सन् २०२५ को पहिलो ६ महिनामा १९ लाख ३० हजार कार बिक्री गरेको हो । जिलीले निकै तीव्र बजार विस्तार गर्दै होन्डा र निसानलाई पछाडि धकेलेको छ ।
जापानी ब्राण्ड होन्डाले ५ प्रतिशतले बिक्री गुमाउँदा तेस्रो स्थानबाट नवौं स्थानमा पुगेको छ । कम्पनीले ६ महिनामा १७ लाख ८० हजार युनिट कार विश्व बजारमा बिक्री गरेको हो ।
निसानको बिक्री ६ प्रतिशतले घटेको छ । कम्पनीले जुन अन्तिमसम्ममा १६ लाख १० हजार युनिट कार बिक्री गरेको छ । निसान धेरै कार उत्पादन र बिक्री गर्ने टप १० कम्पनीको सूचीबाट बाहिर पुगेको हो ।
सन् २०२५ को पहिलो ६ महिनामा सबैभन्दा धेरै कार टोयोटाले बिक्री गरेको छ । जापानी ब्राण्ड टोयोटाले जुन अन्तिमसम्मा ५१ लाख युनिटभन्दा धेरै कार बिक्री गरेको हो ।

