काठमाडौंबाट पोखरा चल्ने सवारी साधनमा जीपीएस जडान हुने

काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं-पोखरा रुटमा संचालन हुने सार्वजनिक सवारी साधनमा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) ट्रयाकिङ सिस्टम जडान गर्ने भएको छ ।

विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न जीपीएस ट्रयाकिङ सिस्टम जडान गर्न लागेको जनाएको छ । जीपीएस जडानपछि ट्राफिक प्रहरीलाई सवारी साधन ट्रयाकिङ गर्न, गतिको जानकारी लिन र सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको दाबी छ ।

पर्यटन गन्तव्यको पहिलो प्राथमिकतामा रहेको पोखराका सवारी साधनमा सुरक्षालाई ध्यानमा राख्दै जीपीएस जडान गर्न लागिएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।

विश्व बैंकको सहयोगमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन जीपीएस जडान गर्न लागिएको हो । विशेष गरी लामो दूरीका यातायातहरुमा जीपीएस जडान गरिने उनले बताए । त्यसपछि प्रत्येक सार्वजनिक तथा निजी सवारीहरूमा समेत जीपीएस जडान गर्दै लैजाने योजना रहेको उनले बताए ।

‘जीपीएस जडानका लागि काम भइरहेको छ, पहिलो चरणमा काठमाडौं-पोखरा खण्डमा चल्ने सार्वजनिक यातायातहरूमा जीपीएस जडान गर्ने तयारीमा छौँ, त्यसपछि सबैमा जीपीएस जडान गर्ने योजना रहेको छ,’ सूचना अधिकारी भुसालले भने ।

काठमाडौं-पोखरामा सार्वजनिक यातायात १ हजार २०० हाराहारीमा रहेका छन् । लामो दूरीमा जडानपछि छोटो दूरीका सवारीहरूमा समेत जीपीएस जडान गरिने उनले जानकारी दिए । जीपीएस जडान पछि कुन गाडी कहाँ कति समय रोकिएयो, कुन रुटतर्फ जाँदै छ भनेर निरीक्षण गर्न सकिने छ ।

के हो जीपीएस ट्रयाकिङ ?

ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ले देखाउने लंगिच्युड–ल्याटिच्युडलाई सफ्टवेयरबाट कैद गरी वास्तविक अवस्था हेर्ने र डाटा लिने प्रविधि ट्रयाकिङ हो । जीपीएसले पृथ्वीमा उभिएको विन्दु देखाउने गर्छ, यसैलाई ट्रयाकिङ गरेर वास्तविकता पत्ता लगाउन सकिन्छ ।

ट्रयाकिङ मार्फत ठाउँ, व्यक्ति र विभिन्न गतिविधिको निगरानी गर्न सकिन्छ । लंगिच्युड–ल्याटिच्युडलाई ट्रयाकिङगरेर पृथ्वीको वास्तविक ठाउँ पत्ता लगाउनु नै यो प्रविधिको काम हो ।


Back_to_top