नयाँ ब्रेजा र ग्राण्ड भिटाराको बम्पर बुकिङ

काठमाडौं । भारतमा एसयूभी क्रेज बढेसँगै नयाँ गाडीको बुकिङमा नयाँ नयाँ रेकर्ड बनिरहेको छ । मारुती सुजुकीले जुन अन्तिमबाट विक्री सुरु गरेको ब्रेजा र केही दिन भित्रै विक्री सुरु गर्न लागेको ग्राण्ड भिटाराको बुकिङ एक लाख यूनिट पार भएको कम्पनीले जनाएको छ ।

कम्पनीका सिनियर कार्यकारी निर्देशक शसांक श्रीवास्तवका अनुसार नयाँ दुई मोडलको बुकिङ एक लाख यूनिट पार भएको हो ।

‘ग्राहकले नयाँ हाइब्रिड टेक्नोलोजीमा आधारित ग्राण्ड भिटारा प्रति धेरै चासो देखाएका छन् । अहिलेसम्म भएको बुकिङ सबैभन्दा धेरै हाइब्रिड नै रहेको छ’, सिनियर कार्यकारी निर्देशक श्रीवास्तवले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन् ।

कम्पनीले जनाए अनुसार अहिलेसम्म नयाँ ग्राण्ड भिटारको बुकिङ २६ हजार यूनिट पुगेको छ भने करिब ७५ हजार यूनिट ब्रेजाको बुकिङ रहेको छ ।

मारुती सुजुकीले नयाँ ब्रेजा निकै फिचर लोडेड बनाएर ल्याएको कारण ग्राहकको प्रतिक्षा बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ । नयाँ ब्रेजाको टप भेरियन्टमा ३६० डिग्री क्यामेरा, सनरुफ लगायतका फिचर पाउन सकिन्छ ।

त्यसैगरी नयाँ ग्राण्ड भिटारको हाइब्रिड मोडल २८ किलोमिटर प्रतिलिटर माइलेज दिने कारण नै चर्चामा रहेको छ । मारुती सुजुकीले ग्राण्ड भिटारामा टोयोटाको हाइब्रिड टेक्नोलोजी प्रयोग गरेको हो ।

यसअघि भारतमा महिन्द्राका पनि दुई मोडल एक्सयूभी ७०० र नयाँ स्कर्पियो एन मोडलको बुकिङ पनि १/१ लाख यूनिट पार भएको थियो ।


Back_to_top