काठमाडौं । मारुती ग्राण्ड भिटारा यस वर्षको उत्कृष्ट कार घोषित भएको छ । ग्राण्ड भिटरा भारतको प्रतिष्ठित मिडिया अटोकार इन्डिाले वार्षिक रुपमा प्रदान गर्दै आएको ‘कार अफ द इएर २०२३’ घोषित भएको हो । ग्राण्ड भिटाराले महिन्द्रा स्कर्पियो एन, टोयोटा इनोभा हाइक्रस, हुन्डाई टक्सनसहित अन्य प्रतिस्पर्धीलाई पछिपार्दै वर्षको उत्कृष्ट घोषित भएको हो ।
मारुती ग्राण्ड भिटाराले कार अफ द यियरसँगै मिडसाइज एसयूभी अफ द यियरको उपाधि समेत पाएको छ । यसमा भएको फ्यूल इफिसियन्ट हाइब्रिड सिस्टम, आकर्षक प्याकेजिङ र फ्ल्यागसिप उत्पादनका कारण यसले उपाधि हात पारेको हो ।
नेपालमा पनि यो एसयूभी छिट्टै बिक्री सुरू हुने भएको छ । सीजी मोटोकर्पले ग्राण्ड भिटाराको हाइब्रिड इन्जिनमा बिटा र अल्फा भेरियन्टमा ल्याउने तयारी गरेको छ । यी दुवै भेरियन्टमा अटोमेटिक गियरबक्स र ई-ड्राइभ टेक्नोलोजी जडान भएको छ ।
कम्पनीले यसको मूल्य आधिकारिक रूपमा घोषणा नगरे पनि डिलरहरूले बिटा भेरियन्टको मूल्य ८५ लाख ९९ हजार र अल्फा भेरियन्टको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिइरहेका छन् ।
नेपाली बजारमा ग्रान्ड भिटाराको माइल्ड हाइब्रिड इन्जिन अप्सनमा भने अल्फा भेरियन्ट मात्रै उपलब्ध हुनेछ । कम्पनीले अल्फा भेरियन्ट म्यानुयल गियरबक्स टू ह्वील ड्राइभ अप्सनको मूल्य ७४ लाख ९९ हजार तोकेको छ । त्यसैगरी, यसको फोर ह्वील ड्राइभ भेरियन्टको मूल्य ८० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यसअघि दुई इन्जिनको टप भेरियन्ट मात्रै नेपाल आउने भनिएको थियो । अहिले ग्राण्ड भिटारा बुकिङ गर्न चाहने ग्राहकले २० हजारदेखि १ लाख रुपैयाँसम्म तिरेर बुकिङ गर्न सक्ने छन् ।
ई–ड्राइभ सिस्टम भएको भिटारामा प्रयोग गरेको १४९० सीसीको इन्जिनसँग सिन्क्रोनस एसी मोटर जडान गरिएको छ । उक्त इन्जिनको संयुक्त पावर ११४ बीएच र टर्क १४१ एनएम रहेको छ । यसको माइलेज अविश्वसनीय छ । कम्पनीले प्रतिलिटर २७.९७ किलोमिटर माइलेज रहने दाबी गरेको छ । यसमा ई–सीभीटी गियरबक्समा उपलब्ध रहेको छ ।

ग्राण्ड भिटाराको नेचुरल्ली एस्पिरेटेड १.५ लिटर फोर सिलिण्डर, के १५ सी ड्यूलजेट पेट्रोल इन्जिन भएको भेरियन्टमा उपलब्ध छ । उक्त इन्जिनले १०२ हर्सपावर र १३६ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले भिटारामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ ।
सेफ्टी फिचरको रुपमा टप स्पेक भिटारामा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र चारवटै चक्कामा डिस ब्रेक दिइएको छ । साथै, चालकको सहजताका लागि हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा उपलब्ध रहेका छन् ।


