काठमाडौं । विश्वको पहिलो जहाज राईट ब्रदर्शले डिसेम्बर १७ सन् १९०३ उडाएका थिए । त्यसको २७ वर्षपछि सन् १९३० मा मात्र यात्रु उडाने युगको सुरुवात भएको हो । प्रविधिको विकास क्रमसँगै जहाजको डिजाइन र टेक्नलोजीमा धेरै सुधार हुँदै आज जेटयुगमा आइपुगेको छ ।
विश्वको सबभन्दा सुरक्षित यात्राको रुपमा हवाई यात्रालाई मानिन्छ । आज कुनै पनि समयमा विश्व आकाशमा हजारौँ जहाजको माध्यमबाट ६ लाखभन्दा बढी मानिसहरू हवाई यात्रामा रहिरहेका हुन्छन् । नयाँ–नयाँ टेक्नलोजीको आविष्कार र विकाससँग–सँगै हवाई यात्रामा अझ विश्वसनीय, आरामदायी, द्रुतगति तथा वातावरणमा कम प्रभाव पार्ने जहाजहरूको निर्माण भइरहेको छ ।
हामीले यहाँ हवाई इतिहासका ९ वटा जहाजकाबारेमा चर्चा गर्न खोजेका छौं । जसले गएको शताब्दीमा जहाजको विकासक्रममा आमूल परिवर्तत ल्याउन सफल रहेको छ ।
१. सन् १९१४ बेनेस्ट १४ औँ

खुल्ला ककपिट भएको यो जहाजले सेन्ट पिटर्सवर्गबाट टम्पा एयरपोर्टमा विश्वको पहिलो सेड्यूल फ्लाइट गरेको थियो । यो फ्लाइटको दूरी जम्मा १८ माइलको र फ्लाइटको समय २३ मिनेट रहेको थियो । यस उडानले यी दुई सहरबीचको ११ घन्टाको रेल यात्रालाई केही मिनेटमा झारेको थियो । तर, यस जहाजमा मात्र एकजना यात्रु बस्ने स्थान रहेको थियो, जसको फलस्वरुप यो उडान व्यावसायिक रुपमा सफल भने हुन सकेन र तीन महिनामै बन्द भएको थियो ।
पहिलो अन्तर्राष्ट्रिय हवाई उडान भने सन् १९१९ मा फ्रान्सको पेरिस र बेल्जियमको ब्रसेल्सबीच भएको थियो, जसको हवाई फ्लाइट समय झन्डै ३ घण्टाको रहेको थियो । सो फ्लाइटको दूरी १७५ माइल र सो जहाजको टपस्पीड ६४ माइल प्रतिघण्टा रहेको थियो । एकजनामात्र पेसेञ्जर रहने सो फ्लाइटको टिकट शुल्क तत्कालीन समयमा ५ डलर रहेको थियो, जुन आजको १२३ डलर जति हो ।
२. सन् १९२६ फोर्ड ट्राई–मोटर

‘टिन गूज’को नामले चिनिने उक्त जहाजको बढी मेटलले बनेको र ठूलो आवाज निस्कने थियो । यो जहाज राम्रो सेफ्टी रेकर्ड भएको जहाजमा पथ्र्यो । फोर्ड कम्पनीले बनाएको, यस जहाजले हवाई यात्रालाई स्थापित बनाउनमा सहयोग गरेको हो । यसमा दुईवटा पखेटामा र अगाडि भागमा समेत गरेर तीनवटा इञ्जिन रहेको थियो ।
यदि मध्य–आकाशमा एक इञ्जिन फेल भएमा पनि बाँकी दुईवटा इञ्जिनले जहाजलाई निरन्तर उडाउन सक्दथ्यो । यो जहाज सन् १९२६ बाट १९३३ सम्ममा झन्डै २०० वटा बनेको थियो । यसको अधिकतम् दूरी ५०० माइल र गती १३५ माइल प्रतिघन्टासम्म रहेको थियो । यस जहाजमा १२ जना यात्रु सवार हुनसक्ने क्षमता थियो । यस जहाजलाई चाल्स लिन्डवर्गले पहिलोपटक सन् १९२७ मा ट्रान्सएटलान्टीक फ्लाइट गरेका थिए ।
३. सन् १९३६ डग्लस डीसी–३

डग्लसको डीसी–३ जहाज बजारमा आएपछि एयरलायन्सहरू सरकारी अनुदान नलिइकन नाफामा सञ्चालन हुनसकेका थिए । यसको सुरुको डिजाइन यात्रुहरूलाई आरामदायी हुने किसिमले गरिएको थियो, जहाँ १४ जना यात्रु आरामले सुतेर यात्रा गर्न सक्ने थिए । तर, पछि सील्पिङ सिट हटाएर यसको दुईगुना २८ जनाको लागि सीट राखिएकोे थियो । जसको सहयोगले एयरलायन्स नाफामा सञ्चालन गराएको थियो ।
पहिलो उत्पादनको ६ दशक भइसकेर पनि यो मोडलका सयौँ जहाजहरू अहिले पनि सञ्चालनमा रहेका छन् । अमेरिकाको मुख्य एयरलायन्सहरू डेल्टा र युनाइटेडले यो जहाजको सफल प्रयोग गरेका थिए । यसको रेञ्ज १४९५ माइल तथा अधिकतम् स्पीड १९२ माइल प्रतिघन्टा रहेको थियो । यस जहाजमा सन् १९३९ सम्म ९० प्रतिशत अमेरिकी हवाई यात्रुहरू यात्रा गर्थे । यो कम्पनीपछि बोइङमा विलय भएको थियो ।
४. सन् १९५३ डे हविल्यान्ड डीएच–१०६ कोमेट

बेलायतले बनाएको कोमेट विश्वको पहिलो जेट इञ्जिनयुक्त जहाज हो । तर, बजारमा दबदबा बनाउन नपाउँदै प्राविधिक समस्याले गर्दा यो जहाज ग्राउन्डेड भएको थियो । प्रोपेलर इञ्जिनभन्दा उच्च गति र उचाईमा उड्न सक्ने यो जहाजले हवाई यात्रालाई आधुनिक युगमा पुर्याएको थियो । तर, सन् १९५४ भएको दुईवटा दुर्घटन जहाँ फिउसलाजनै टुक्रिएकोले यसको अवसान भएको थियो ।
यसको बजारपछि बोइडको ७०७ र डग्लस–८ ले लिएका थिए । कोमेटमा रोल्स रोयल्सले बनाएको ४ वटा इञ्जिनहरू रहेको थियो । यसको अधिकतम् गति ५२६ माइल प्रतिघन्टा र दूरी ३१२० माइल रहेको थियो । यस जहाजमा ९९ जना यात्रुले यात्रा गर्न सक्ने थिए ।
५. सन् १९५८ बोइङ–७०७

द्रूतगति, लामो रेञ्ज र आरामदायिताले गर्दा पहिलो अमेरिकन जेट बोइङ–७०७ ले हवाई यात्रामा क्रान्ति ल्याएको हो । यसमा दश लाखभन्दा बढी यात्रुहरूले एटलान्टीक ओशियनको वारपार यात्रा गरेका थिए, जुन तत्कालीन समयको पानीजहाजको यात्रुभन्दा बढी रहेको थियो ।
बोइङको ७०७ मोडलसँगै बोइङ कम्पनीले एयरलायन्सको बजार कब्जा गर्ने जग बसालेको थियो । यसबाट नै जहाजको डिजाइनको स्ट्याण्डर तयार भएको हो, जसमा यात्रुको सीट लहर र देब्रेपट्टि ढोका राख्ने चलन चलेको हो । यी मोडलका जहाजहरू आजकल पनि कार्गो जहाजको रुपमा सेवा दिइरहेका छन् । नागरिकको प्रयोगको लागि १०१० वटा यी जहाज बनेका थिए । यसको अधिकतम् गति ६०० माइल प्रतिघन्टा र रेञ्ज ३००० माइलसम्म रहेको थियो । यस जहाजमा १८१ जना यात्रुहरूले एकैपटक यात्रा गर्ने सीट रहेको छ ।
६. सन् १९६९ बोइङ–७४७

पहिलो वाइड बढी जहाजको रुपमा निर्माण भएको जम्बो जेटमा एकैपटक धेरै यात्रुहरू यात्रा गर्न सक्छन् । जसले गर्दा हवाई यात्रालाई सस्तो बनाएर सर्वसाधारणको पहुँचमा पुर्याएको थियो । यसको माथिल्लो तल्लामा पनि यात्रु राख्ने स्थान भएकोले फस्ट क्लास प्यासेञ्जरलाई सीट बेचेर विशेष सेवा–सुविधा दिएर एयरलायन्सहरूले बढी आम्दानी गर्न सकेका थिए ।
यो जहाज सन् २००७ मा एयरबसले ए–३८० नबनाएसम्म विश्वको सबभन्दा ठूलो जहाजको रुपमा रहेको थियो । यो जहाज यति ठूलो छ कि यसको टेल ६ तल्लाको भवन जतिकै ६४ फिट अग्लो रहेको छ । ‘क्वीन अफ स्काई’को उपमा पाएको यो जहाज हाल धेरै मात्रामा कार्गो कम्पनीहरूले प्रयोग गरिरहेका छन् । यसको अधिकतम् गति ६४० माइल प्रतिघन्टा र दूरी ६००० माइलसम्म रहेको छ । यस जहाजमा एकैपटक ४९० जना यात्रुहरू उड्न सक्छन् ।
७. सन् १९७६ कङ्कड

साउन्डको स्पीडभन्दा छिटो सुपरसोनिस स्पीडमा उड्ने पहिलो र हालसम्मको एकमात्र प्यासेञ्जर जहाज कङ्कड हो । यसबाट यात्रा गर्न लण्डनबाट न्यूयोर्कसम्म जम्मा ३ घन्टा लागथियो, जबकी सामान्य जहाजमा यात्रा गर्न ८ घन्टासम्म समय लाग्छ । एयरफ्रान्स र ब्रिटीस एयरवेजले सञ्चालन गरेको कङ्कड प्राविधिकरुपमा अति उपयुक्त, तर व्यावहारिकरुपमा अव्यावहारिक रहेको थियो ।
यो जहाज धेरै आवाज निकाल्ने बढी इन्धन खपत गर्ने र अत्याधिक महङ्गो रहेको थियो । यो जहाज सुपरसोनिक स्पीडमा पानीमाथिमात्र उड्न सक्थ्यो । किनकी मानव वस्तीमाथि उड्दा निकै ठूलो आवाज र कम्पन उत्पन्न गर्ने हुँदा यसलाई सुपरसोनिक स्पीडमा पानीमाथि मात्र उडाउने अनुमती थियाे । यो जहाजको अन्तिम उडान सन् २००३ मा भएको थियो । एकपटकमा १०० जना यात्रुहरू उड्न सक्ने कङ्कडको अधिकतम् गति १३५० माइल प्रतिघन्टा तथा दूरी ४१४३ माइल रहेका थियो ।
८. सन् १९८८ एयरबस ए–३२०

हवाई उडानमा पहिलोपटक कम्प्यूटर प्रोग्रामिङ्गको प्रयोग गरिएको युरोपियन कम्पनीले बनाएको जहाज एयरबस ए–३२० एकदमै सफल जहाज मोडल हो । यसको अाधुनिक सिस्टमले गर्दा जहाज हलुका, अझ सटिक, विश्वसनीय तथा पाइलटको कार्यभारलाई धेरै हदसम्म कम गराउन सफल रहेको थियो । यसमा पहिलोपटक प्रयोग भएको डिजिटल फ्लाइट इन्स्ट्रुमेन्ट डिस्प्लेपछि पछि उत्पादन हुने सबै जहाजको स्ट्याण्डर्ड बनेको थियो । यसको कम्पिटीसन बोइडको ७३७ सँग रहेको छ । ए–३२० नै एक पहिलो जहाज हो, जसमा विङ्गको छेउछेउमा विड्लेट राखिएको थियो, जसले ड्याग कम गरेर इन्धन खपत कम गर्नमा सघाउ पुर्याएको थियो । यस जहाजको अधिकतम् गति ५१५ माइल प्रतिघन्टा र दूरी ३३०० माइल रहेको छ । यस जहाजमा बढीमा १८० जना यात्रुहरूले एकैपटक यात्रा गर्न सक्नेछन् ।
९. सन् २०११ बोइड–७८७ ड्रिमलाइनर

कम्पोजिट मेटेरियलले बनाइएको पहिलो जहाज हो बोइङको ड्रिमलाइनर, जसको तौल परम्परागत आल्मुनियम अलोयले बनेकोभन्दा हलुका र थप बलियो रहेको छ । पूर्ववर्ती जहाजहरूभन्दा यो जहाजको क्षमता बढी रहेको छ । जसले गर्दा यो जहाज एकैपटक लामो दूरीको यात्रा गर्न सक्छ । यस जहाजले आल्मुनियमले बनेका जहाजहरूभन्दा २० प्रतिशतसम्म इन्धन वचत गर्न सक्नेछ । यस जहाजको अधिकतम् गति ५९५ माइल प्रतिघन्टा तथा दूरी ८४६४ माइल रहेको छ भने, यसमा २४२ जना यात्रुले यात्रागर्न सक्ने छन् ।

