काठमाडौं । अहिले नेपाली बजारमा २० देखि ७० लाख रुपैयाँँसम्मका इलेक्ट्रीक सवारीसाधनहरु बिक्री वितरण भइरहेका छन् । यसरी बजारमा थुप्रै छनोटका अवसर सृजना हुँदा इलेक्ट्रीक कार खरिदकर्ताले आफ्नो आवस्यकता अनुसारको व्याट्री प्याक भएको कार छनोट गर्न सक्ने भएका छन् भने मूल्यमा समेत केही वचत गर्न सक्ने देखिन्छ ।
सन् १९९८ मा इलेक्ट्रीक ट्याम्पोको आयातसँगै नेपाली सडकमा इलेक्ट्रीक गाडी गुड्न थालेको हो । त्यसपछि केही दुई पाङ्ग्रे सवारीसाधन नेपाली बजारमा प्रवेश गरे । तर, ती साधनको उपयोग सही तरिकाले हुन सकेन । भनौं त्यसको बिक्रीमा कुनै विस्वसनीयता आउन सकेन ।
तपाईले इलेक्ट्रीक कार किन्दा आफुले गुडाउनु पर्ने दुरी र आफुलाई चाहिने रेन्ज निश्चित गर्नुभयो भने कम लागतमै गाडीको आवस्यकता पुरा गर्न सक्नु हुनेछ ।
त्यसपछि सन् २००७ मा दुई वटा कम्पनीले इलेक्ट्रीक कार नेपाली बजारमा ल्याए । भारतीय गाडी उत्पादक कम्पनी महिन्द्राले अमेरिकी प्रविधिमा निर्माण भएको रेभालाई भारतीय बजारमा ल्याएसँगै नेपाली बजारमा ईको भिजन प्रालिले सार्वजनिक गरेको थियो ।
साथै त्यही समयमा नेभी ट्रेडिङ्ग कम्पनीले ‘बिजुली’ नामक इलेक्ट्रीक गाडी नेपाली बजारमा ल्याएको थियो तर, उक्त चिनीयाँ गाडी नेपाली बजारमा बिक्री हुन सकेन ।
इटुओको प्रबेश
रेभाले मानिसलाई इलेक्ट्रीक कारका विषयमा बहस गर्ने वातावरण सृजना गरेपनि बिक्रीमा इटुओको प्रबेशसँगै वृद्धि भएको मान्ने गरिन्छ । सन् २०१२ मा अग्नी इनर्जिले नेपाली बजारमा ल्याएको इटुओले इलेक्ट्रीक सवारीसाधन प्रति निकै रुची सृजना गर्न सफल भएको मानिन्छ । तर, गाडीको कम रेन्जका कारण उपत्यका बाहिर लिएर जानु पर्ने मानिसको रोजाईमा यो कार पर्न सकेन ।
क्रमिकरुपमा कम्पनीले इटुओ मोडलमा सुधारगर्दै व्यवसायीक रुपमा सफल गाडी बनाउने बाटोमा लग्यो र इटुओ प्लस सार्वजनिक गर्यो । यहीले सिटीमा गुड्नको लागि यो गाडीको प्रयोग गर्ने मानिस ह्वातै बढेको पाईन्छ ।
एसयूभी इलेक्ट्रीकमा किया शोल
एसयूभी सेग्मेन्टमा किया शोल नेपाली बजारमा सन् २०१६ वाट बिक्री वितरण सुरु भएको हो । यसले नेपाली बजारमा राम्रै पर्फमेन्स गरिरहेको छ । मूल्यका हिसावले करिब ५६ लाख रुपैयाँ तिर्नुपर्ने यो कार सडकमा राम्रै संख्यामा गुडेको देख्न सकिन्छ ।
अन्य कम्पनीको आगमन
त्यसपछि इलेक्ट्रीक कार सेग्मेन्टमा बिवाईडी, महिन्द्राको ईभेरिटो, हुन्डाईको आयोनिक, प्यूजोको पार्टनर टीपीलगायतका बिभिन्न ब्रान्डका गाडी नेपाली बजारमा आए । हाल, नेपालमा थुप्रै विशिष्ठ व्यक्तिहरुले बिवाईडी र कियाका गाडीहरु प्रयोग गर्दै आएका छन् ।
हुन्डाई कोनाको प्रबेश
इलेक्ट्रीक कारको बजारमा हुन्डाई कोना नेपाली बजारमा आएको मध्य सबैभन्दा बढी रेन्ज दिने मध्यको एक फिचरप्याक क्रसओभर एसयूभी हो । एक पटकको फुलचार्जमा ३०० किलोमिटरभन्दा बढी गुडाउन सकिने यो कार नेपाली बजारमा आएको एक हप्तामा नै ४० युनिट बिक्री भएको कम्पनीले जनाएको छ ।
इलेक्ट्रीक गाडीको सबैभन्दा महंगो पक्ष भनेको व्याट्री प्याक हो । एउटा गाडीको मूल्यमा करिब ५० प्रतिशत हिस्सा व्याट्रीको हुन्छ भने बाँकी ५० प्रतिशत हिस्सा अन्य फिचरहरुको रहेको हुन्छ ।
इलेक्ट्रीक कार पावरफुल हुँदैनन् र डिजाईन पनि राम्रो देखिदैन भन्ने भ्रमलाई तोड्न कोना सफल भएको छ । यसले नेपाल सरकारले इलेक्ट्रीक सवारीसाधन आयातमा दिएको जोडलाई बल पुर्याउने देखिएको छ ।
साथै, निकट भविष्यमानै कियाले नेपाल ल्याउने प्रक्रिया सुरु गरेको निरो र एमजीले ल्याउने प्रकृया सुरु गरेको जेडएस इलेक्ट्रीकको आगमन पछि इलेक्ट्रीक बजारमा नयाँ हलचल सृजना हुने अनुमान गरिएको छ ।
कति रेन्जको गाडी आवस्यक
इलेक्ट्रीक सवारीसाधनको सबैभन्दा ठूलो बहसको विषय भनेको यसले प्रदान गर्ने माईलेज मुख्य हुने गरेको छ । अहिले बजारमा रहेका इलेक्ट्रीक भेहिकलले ४०० किलोमिटरसम्म माइलेज दिइरहेको पाईन्छ । नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा कति माइलेज दिने कार उपयूक्त मानिन्छ त ? यसलाई मापन गर्न निकै कठिन छ ।
तर, हाम्रो भौगोलिक अवस्थाको कारण एक पटक गाडी स्टार्ट गरेपछि २०० किलोमिटर भन्दा लामो दुरीको यात्रा गर्न सक्ने अवस्था छैन । औषतमा १०० किमीको यात्रापछि चालकलाई अनिर्वाय आराम गर्नु पर्ने अवस्था रहेको छ । त्यसैले हामीले प्रयोग गर्ने सडकको अवस्था र चार्जिङ पूर्वाधार हेरर गाडी किन्नु पर्ने अवस्था रहेको छ ।
नेपाली बजारमा उपलब्ध इटुओ प्लसले एक पटकको फुल चार्जमा १२० किलोमिटर माईलेज दिन्छ भने ई भेरिटोले ११० किलोमिटर माइलेज प्रदान गर्नेछ । किया शोलले १८० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ भने प्यूजोको पार्टनर टीपीले १७० किलोमिटर रेन्ज प्रदान गर्छ ।
हुन्डाई कोनाले ३०० किलोमिटरभन्दा बढी माइलेज प्रदान गर्नेछ भने बिवाईडीको ई–६ ले ४०० किलोमिटर रेन्ज प्रदान गर्ने जनाएको छ ।
मूल्य
नेपाली बजारमा अहिले सबैभन्दा सस्तो इलेक्ट्रीक कारको रुपमा महिन्द्राको इटुओ प्लस रहेको छ । यसको पी–४ मोडलको मूल्य २० लाख रुपैयाँ रहेको छ भने, किया शोलको मूल्य ५६ लाख र सनरुफसहितको मूल्य ५८ लाख रुपैयाँ रहेको छ ।
बिवाईडीको ई–सिक्स को मूल्य ६८ लाख रुपैयाँ रहेको छ भने प्यूजो पार्टनर टीपीको मूल्य ६० लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी महिन्द्रा ईभेरिटोको मूल्य २८ लाख रुपैयाँ रहेको छ । भर्खरै नेपाली बजारमा आएको हुन्डाई कोना इभीको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
निस्कर्ष
इलेक्ट्रीक गाडीको सबैभन्दा महंगो पक्ष भनेको व्याट्री प्याक हो । एउटा गाडीको मूल्यमा करिब ५० प्रतिशत हिस्सा व्याट्रीको हुन्छ भने बाँकी ५० प्रतिशत हिस्सा अन्य फिचरहरुको रहेको हुन्छ ।
त्यस्तोमा तपाईले इलेक्ट्रीक कार किन्दा आफुले गुडाउनु पर्ने दुरी र आफुलाई चाहिने रेन्ज निश्चित गर्नुभयो भने कम लागतमै गाडीको आवस्यकता पुरा गर्न सक्नु हुनेछ ।
अहिले बजारमा उपलब्ध बाहेक अन्य इलेक्ट्रीक कम्पनीले उत्पादन गरेका कारहरुपनि नेपाली बजारमा प्रवेशगर्न सुरु हुने समय आइसकेकाले ग्राहकले ईभी किन्दा आफ्नो आवस्यकतालाई हेरेर व्याट्री प्याक छनोट गर्न सक्नु पर्छ । उता, सरकारी तवरबाट पनि चार्जिङ स्टेशनको लागि विशेष स्थान छुट्टाएर योजनावद्ध तरिकाले कामको सुरुवात गर्न जरुरी भइसकेको छ ।


