चार भेरियन्टमा आयो, क्रेटाको पर्फमेन्स मोडल

काठमाडौं । हुन्डाईको सफल मोडल क्रेटाको एनलाइन मोडल भारतमा बिक्री सुरु भएको छ । कम्पनीले एन सिरिजमा ल्याएको क्रेटाको पर्फमेन्स मोडल विभिन्न ४ भेरियन्टमा उपलब्ध रहेको छ ।

पावर र स्पोर्टी डिजाइनको कम्बीनेशनमा तयार भएको क्रेटा एन लाइन मोडलमा १.५ लिटर टर्बो इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १६० हसपार्वर प्रदान गर्नेछ । यसलाई म्यानुअल र डीसीटी अटोमेटीक गरी दुई गियरबक्स अप्सनमा ल्याएको हो ।

दुई भेरियन्ट म्यानुअल गियरबक्समा उपलब्ध छ । एन ८ म्यानुअल इन्ट्री भेरियन्ट हो । यसको भारतमा १६ लाख ८२ हजार भारतीय रुपैयाँ मूल्य तोकिएको छ । त्यस्तै म्यानुअलमा एन १० मोडलको मूल्य १८ लाख ३२ हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्य कायम भएको हो ।

डीसीटी अटोमेटीकमा पनि दुई भेरियन्ट नै उपलब्ध छ । अटोमेटीक एन ८ को मूल्य १९ लाख ३४ हजार र एन १० को २० लाख ३० हजार भारतीय रुपैयाँ तोकिएको हो ।

अगाडिको ग्रिलमा परिमार्जन गरिएको एन लाइन मोडलमा दुई वटा एग्जस्ट पाइप दिइएको छ । यसले एन लाइन क्रेटालाई निकै स्पोर्टी देखाएको छ । गियर नब, ह्वील र ड्यासबोर्डमा पनि पर्फमेन्स मोडल झल्काउने ‘रेड’ एसेन्टको प्रयोग भएको छ ।

यसको अगाडि बम्परमा पनि ठूलो साइजको एयर इन्टेक दिएको छ । रेगुलर क्रेटामा रहेकोभन्दा ठूलो १८ इन्चको ह्वील यसमा दिइएको छ । एसयूभीको धेरै स्थानमा ‘एन लाइन’ इम्बोष्ड गरिएको छ ।

गत जनवरीमा मात्रै हुन्डाईले आफ्नो सफल मोडल क्रेटाको फेसलिफ्ट भारतमा बिक्री सुरु गरेको थियो । दुई महिनाको अवधिमा ७५ हजार यूनिटभन्दा बढी बुकिङ भएको क्रेटाको पर्फमेन्स मोडलले पनि राम्रो ब्यापार गर्ने कम्पनीले विश्वास लिएको छ ।


Back_to_top