सस्तो एसयूभी खोज्नेको पहिलो रोजाई बन्ने दाउमा ‘हुन्डाई एक्सटर’

काठमाडौं । एसयूभी बजारमा कम मूल्यको गाडी ल्याएर सेग्मेन्टमा पहिलो बन्ने दाउमा हुन्डाई मोटर्स देखिएको छ । त्यसको लागि कम्पनीले इन्ट्री लेभल मोडल एक्सटर ल्याउन लागेको हो ।

एसयूभी खोज्ने ट्रेन्ड पछिल्लो दशकमा विश्वभर सर्वाधिक चल्यो । त्यसबाट नेपाल अछुतो हुने कुरै भएन । सन् २०१३ देखि नेपालमा साना एसयूभी आउन थालेको हो ।

हुन्डाईले ठूला एसयूभी टुसान, शान्ताफे जस्ता मोडल बजारमा उपलब्ध गराएपनि सन् २०१६ मा क्रेटा भारतमा उत्पादन थालेर कम मूल्यका एसयूभी उत्पादनमा प्रबेश गरेको थियो । जुन अहिले पनि हुन्डाईको सर्वाधिक मध्येको एक मोडल हो ।

क्रेटापछि त्योभन्दा सानो साइजमा भेन्यू ल्याएको हुन्डाईले आफ्ना उत्पादनको माध्यमबाट ग्राहकको मन जित्न सफल भयो । हुन्डाई भेन्यू अहिले पनि भारत र नेपालमा राम्रै संख्यामा विक्री हुँदै आएको मोडल हो । मूल्यको हिसावले क्रेटाभन्दा सस्तो भएको कारण भेन्यूले सफलता पायो ।

भेन्यूको सफलता र माइक्रो एसयूभी सेग्मेन्टमा रहेको उच्च मागको कारण कम्पनीले नयाँ मोडल एक्स्टर बजारमा उतार्ने तयारी गरेको छ । भारतमा ११ हजार रुपैयाँ बुकिङ शुल्क लिएर ग्राहकले यसलाई बुक गर्न थालिसकेका छन् । यसलाई आगामी महिनाबाट विक्री थाल्ने अनुमान गर्न सकिन्छ ।

हुन्डाई एक्स्टर हुन्डाईको सबैभन्दा सस्तो एसयूभी बन्ने छ । इन्जिन र पावरको आधारमा भेन्यू समान रहेको एक्स्टरको साइज भेन्यूभन्दा केही सानो छ । तर, यसको समग्र डिजाइन र लुक्स भने भेन्यूभन्दा राम्रो देखिएको छ । विल्कुलै फरक डिजाइनको ग्रिल, नयाँ प्रोजेक्टर हेडल्याम्प, शान्ताफेबाट प्रेरित एच आकारको एलइडी डे टाइम रनिङ लाइट यसमा पाउन सकिन्छ ।

क्रेटा र भेन्यूको जस्तै यसको भेरियन्टहरु ईएक्स, इएक्स अप्सनल, एस, एस अप्सनल, एसएक्स र एसएक्स अप्सनल नामबाट उपलब्ध हुनेछ । कम्पनीले यसमा दुई गियरबक्स अप्सन दिएको छ । जसमा म्यानुयल, र एएमटी अटोमेटीक गियरबक्स रहेका छन् ।

हुन्डाईले आफ्नो १.२ लिटर कप्पा इन्जिनको प्रयोग ग्राण्ड आई १० नियोस, आई २०, अउरा, भेन्यूमा प्रयोग गरेको छ । त्यहि इन्जिन एक्सटरमा प्रयोग गरेकोले पावरमा समस्या हुने देखिदैन । उक्त इन्जिनले ८३ पीएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ ।

कहिले आउला नेपाल ?

हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक्स्टर नेपाल ल्याउने छ । अहिले नै भारतमा विक्री सुरु नभएको कारण कुन मितिबाट नेपाल आउँछ भन्ने एकिन नभएपनि आगामी भदौ २६ गतेदेखि असोज २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने नाडा अटो शो २०२३ मा यो गाडी आउन सक्नेछ ।

मुख्य प्रतिस्पर्धी

हुन्डाई एक्सटरको सबैभन्दा ठूलो प्रतिस्पर्धी टाटा पन्च हो । यसका अलावा निसान म्यागनाइट, रेनो कायगर, सिट्रोन सीथ्री जस्ता मोडलसँग पनि यसको प्रतिस्पर्धा चल्नेछ ।


Back_to_top