हिउँ भएको स्थानमा हुन्डाई ‘एक्सटर’को परिक्षण

काठमाडौं । हुन्डाईले ल्याउन लागेको माइक्रो एसयूभी एक्सटरको परिक्षण हिउँ भएको स्थानमा भइरहेको तस्बिरहरु बाहिर आएका छन् । माइक्रो एसयूभीको परिक्षण हिमाली क्षेत्रमा भएको देखिएसँगै एक्सटरमा ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर रहने अनुमान सुरु भएको हो ।

अहिले परिक्षण भएको स्थान कोरिया वा भारत होइन । हुन्डाईले एक्सटरको परिक्षण यूरोपमा गरिरहेको अवस्थामा तस्बिरहरु बाहिर आएका हुन् । मोटर्स डट इएसले सार्वजनिक गरेको एक्स्टरको तस्विर अनुसार गाडीको परिक्षण स्वीडेनमा भइरहेको छ । यो गाडी भारतमा परिक्षण भइरहेको एक्सटरको तस्बिरसँग हुबहु मिल्दोजुल्दो छ । गाडीको अधिकांश भाग छोपेर परिक्षण भएको भएपनि ह्वील, रुफ, हेडलाइट, डेटाइम रनिङ लाइट जस्ता फिचर सहजै देख्न सकिन्छ ।

हिउँ भएको स्थानमा परिक्षण भएको कारण गाडीमा अफरोड, सिटी र स्पोर्टस् मोड रहने सहजै अनुमान लगाउन सकिन्छ । सम्भवत एक्सटरको टप भेरियन्टमा ट्रयाक्सन कन्ट्रोल वा त्यस्तै नाम दिइएको कुनै फिचर उपलब्ध रहनेछ । कम्पनीले यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गर्नेछ ।

भारतीय बजारमा टाटाको माइक्रो एसयूभी पन्चसँग प्रतिस्पर्धा गर्न आउन लागेको एक्सटर फिचर लोडेड भएर आउने छ । यसका केही भेरियन्टमा शनरुफ समेत उपलब्ध हुनेछ । यूवा पुस्ताको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको एक्सटरमा आधुनिक फिचर उपलब्ध हुनेछ ।

शान्ता-फेबाट प्रेरित डेटाइम रनिङ लाइट, स्पोर्टी स्टाइलको फ्रन्ट ग्रिल, बक्सी प्रोफाइल, एलइडी हेडल्याम्प, रुफरेल, सार्कफिन एन्टेना, एलइडी टेललाइट जस्ता फिचर रहनेछन् । सम्भवत कम्पनीले १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन र १.० लिटर टर्बो इन्जिनमा एक्सटर आउने छ । उक्त इन्जिनसँग ५ स्पडि म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स जडान हुनेछ ।


Back_to_top