नेपाल आयो नयाँ हुन्डाई कोना

काठमाडौं । हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा देखिएको छ । जर्मन सहयोग नियोग (जीआईजेड)को नेपाल कार्यालयले नयाँ जेनेरेशन कोना नेपाल मगाएको हो ।

यसलाई हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मगाएको हो । कम्पनीले तत्काल आम उपभोक्ताको लागि भने नयाँ जेनेरेशन कोना बिक्री गर्नेछैन ।

अन्तर्राष्ट्रिय बजारमा नयाँ जेनेरेशन हुन्डाई कोना दुई ब्याट्री अप्सनमा उपलब्ध छ । अहिले नेपाल आएको कोना ४८.६ किलोवाट आवरको ब्याट्री प्याकमा छ । भने १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ ।

२०२४ कोना ईभी ई-जीएमपी प्लेटफर्म ८०० भोल्ट आर्किटेक्चरमा आधारित रहेको छ । जसले गाडीको चर्जिङ स्पीड अघिल्लो मोडलको समान बनाएको छ । कम्पनीका अनुसार यो ईभीमा प्रयोग भएको ब्याट्रीलाई ४०० भोल्टको फास्ट चार्जरबाट ४३ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

यसमा भेहिकल टु लोड (भी-टु-एल) फिचर पनि समावेश गरिएको छ । यसबाट अन्य यन्त्र वा कुनै उपकरणमा १.७ किलोवाट आवरसम्मको पावर प्रदान गर्न सकिन्छ ।

यसको बाहिरी भागमा कम्पनीले फ्रन्ट माउन्ट गरिएको चार्जिङ पोर्ट, पिक्सेलेटेड एलइडी ग्राफिक्स सहितको फुल वाइड डीआरएल लाइट, बडी कलर्ड क्ल्याडिङ लगायत दिएको छ ।

यसको भित्रि भागमा भने १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यसबाट ओभर द एयर अपडेट, विभिन्न ड्राइभिङ मोडसहित एम्बिएन्ट लाइटिङ एडजस्ट गर्न सकिन्छ ।

कोना ईभीमा स्मार्ट रिजेनेरेटिभ सिस्टम, आइ पेडल ड्राइभिङ मोड लगायतका फिचर्सले सुसज्जित गरिएको छ । यो ईभीको डाइमेन्सन १५७९ एमएम अग्लो, १८२६ एमएम चौडा, ४३४३ एमएम लामो रहेको छ । यसको ह्वीलबेस २६४१ एमएम पाउन सकिन्छ भने ७२२ लिटरको बुट स्पेस दिइएको छ ।

तस्बिर अभिशेक श्रेष्ठले इलेक्ट्रीक भेहिकल ग्रुपमा पोष्ट गरेका हुन् ।


Back_to_top