टाटा पन्च ईभी कहिले आउँछ नेपाल ?

काठमाडौं । अहिले बजारमा सर्वाधिक प्रतिक्षा गरिएको मोडलमा पर्ने टाटा पन्च कहिले नेपाल आउँछ भन्ने धेरैमा कौतुहलता छ । कम मूल्य र उत्कृष्ट फिचरको साथ सेकेन्ड जेनेरेशन जीपट्रोन प्रविधिमा तयार भएको टाटा पन्च ग्राउन्ड क्लियरेन्सको कारण पनि धेरैको रोजाइमा पर्ने पक्का जस्तै छ ।

टाटाले भारतमा बिक्री सुरू गरेको धेरै महिना भए पनि नेपाल ल्याउने तयारीमा सिप्रदी ट्रेडिङ जुटेको छैन । बजारमा रहेका अन्य प्रतिस्पर्धी र सिप्रदीको आन्तरिक रणनीति एक हिस्सा बन्न सक्ने पन्च अहिल्यै ठ्याक्कै आउने मिति भन्न कठिन हुन्छ ।

नाडा अटो शो २०२३ मा कम्पनीले टियागो ईभी ल्याएर बजारमा आफ्नो हिस्सा कायम राख्न सफल भएको टाटाले पन्च पनि कुनै अवसर पारेर ल्याउने अनुमान गर्न थालिएको छ । बजारमा आउना साथ पन्चले राम्रो बिक्री पाउने र आफ्नो बजार हिस्सा पनि कायम राख्न सहज हुने भएको कारण आगामी नाडा अटो शो २०२४ मा पन्च ईभी आउने सम्भावना धेरै छ ।

कम्पनी स्रोतका अनुसार पन्चको लागि गृहकार्य सुरू भइसकेको छ । अनुकूल समय मिलाएर बिक्री सुरू हुन्छ । यसको मतलब ढिलामा नाडा अटो शो २०२४ सम्ममा पन्च नेपाल आइसक्छ भन्ने नै हो ।

यस्तो छ पन्च ईभी

टाटा पन्चलाई कम्पनीले दुई ब्याट्री अप्सनमा ल्याएको छ । जसमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । कम्पनीले दाबी गरे अनुसार यी दुई फरक ब्याट्रीले ३१५ किलोमिटरदेखि ४२१ किलोमिटर रेन्ज दिने दाबी गरेको छ ।

पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर दिइएको छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्दछ । त्यस्तै, लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्दछ ।

स्मार्ट, स्मार्ट प्लस, एड्भेन्चर, इम्पावर्ड, इम्पावर्ड प्लस गरी पाँच भेरियन्टमा लन्च भएको पन्च ईभी ६ फरक कलर अप्सनमा उपलब्ध रहेको छ ।

पन्च ईभीमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा दिइएको छ । यी फिचर पन्च पेट्रोलमा पाइँदैन ।

त्यसैगरी, पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्युरिफायर जस्ता फिचर दिएको छ ।


Back_to_top