भारतमा हुन्डाई र टाटा बीच कडा टक्कर, यस्तो छ विक्री

काठमाडौं । भारतीय बजारमा हुन्डाई र टाटा बीच कडा प्रतिस्पर्धा भइरहेको छ । भारतीय गाडी उत्पादक टाटा र कोरियन निर्माता हुन्डाई बीच सन् २०२१ को अन्त्यदेखि नै कडा प्रतिस्पर्धा सुरु भएको हो ।

भारतीय बजारमा हुन्डाई विगत लामो समयदेखि दोस्रो धेरै कार उत्पादन र विक्री गर्ने कम्पनीमा पर्छ । अहिले पनि हुन्डाई दोस्रो स्थानमै रहेपनि टाटाले कडा चुनौति दिइरहेको छ । भारतमा उत्पादन गरेर निर्यात गर्ने मामलामा भने हुन्डाई निकै अगाडि छ ।

नोभेम्बर २०२२ को सार्वजनिक भएको होलसेल विक्री तथ्यांक अनुसार हुन्डाईले ४८ हजार ३ यूनिट कार विक्री गर्दा टाटाले ४६ हजार ३७ यूनिट कार विक्री गरेको छ । नोभेम्बरमा कुल ३ लाख २० हजार ५६४ यूनिट कार विक्री हुँदा हुन्डाईले १४.९७ प्रतिशत बजार हिस्सा ओगटेर दोस्रो स्थानमा कायम रहेको हो ।

त्यसैगरी टाटाले १४.३६ प्रतिशत बजार हिस्सा ओगटेर हुन्डाईलाई पच्छाई रहेको छ । पहिलो स्थानमा रहेको मारुती सुजुकीले १ लाख ३२ हजार ३९५ यूनिट कार विक्री गरेको छ । जुन भारतको ४१.३० प्रतिशत बजार हिस्सा हो । चौथो स्थानमा भारतीय अर्को ब्राण्ड महिन्द्रा छ । महिन्द्राले ३० हजार ३९२ यूनिट कार विक्री गर्दै ९.४८ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

सूचीको पाँचौ स्थानमा अर्को कोरियन ब्राण्ड किया रहेको छ । कियाले २४ हजार २५ यूनिट गाडी विक्री गर्दै ७.४९ प्रतिशत बजार हिस्सा आफुसँग राख्न सफल भएको छ ।

यी बाहेक जापानी ब्राण्ड टोयोटाले ११ हजार ७६५ यूनिट कार विक्री गर्दा अर्को जापानी ब्राण्ड होन्डाले ७ हजार ५१ यूनिट कार विक्री गरेको छ । त्यसपछि रेनोले ६ हजार ३३० यूनिट, स्कोडाले ४ हजार ४३३ यूनिट, एमजीले ४ हजार ७९ यूनिट, निसानले २ हजार ४०० यूनिट, फक्सवागेनले १ हजार ९३५, जीपले ८९४ र सिट्रोनले ८२५ यूनिट कार विक्री गरेका छन् ।

समग्रमा अघिल्लो वर्ष नोभेम्बरको तुलनामा यस वर्ष ३०.९२ प्रतिशतले कारको विक्री बढेको छ । यसरी बजार बढ्दा केवल ४ ब्राण्डको मात्रै विक्रीमा गिरावट आएको छ । फक्सवागेनले २९.०९ प्रतिशतले विक्री गुमाउँदा, जीपले १५.०२ प्रतिशत, निसानले ९.४७ प्रतिशत र टोयोटाले ९.५२ प्रतिशतले विक्री गुमाएको हो ।


Back_to_top